धारा २ : कुन कुन शब्दले के के अर्थ बुझाउँछ ?

सञ्चार भन्नाले अपाङ्गता भएका व्यक्तिहरूलाई कुराकानी गर्न र विभिन्न सूचनालाई बुझ्न सघाउने विधि र तरिकालाई जनाउँछ । उदाहरणका लागि कम्प्युटर, सजिलो भाषा प्रयोग गरेर लेखिएका पढ्ने सामग्री, ब्रेल, सुनेर सञ्चार गर्ने तरिका, ठूलो खालको छापा अक्षर, छोएर गरिने सञ्चार आदि,

अपाङ्गताका आधारमा गरिने विभेद भन्नाले अपाङ्गता भएको भनेर हेप्नु, असमान व्यवहार गरिनु, मनमा दुःख लाग्ने शब्दहरू भनेर अपमान गर्नु, विभिन्न सामाजिक कामहरूमा सामेल हुनबाट रोकटोक गर्नु, कानुनले दिने भनेका सेवा सुविधाहरू अरूले पाए जसरी नपाउनु, अरूले जस्तो पढ्ने सिक्ने अवसर नपाउनु, हिँडडुल गर्ने ठाउँहरू असजिला हुनु र सजिलो हुनेगरी नबनाइदिनु, अपाङ्गता भएको भनेर हिंसा र दुर्व्यवहार गर्नु,

भाषा भन्नाले कुनै पनि विधिले मानिसहरूले आपसमा कुराकानी गर्नु वा भावना एवं विचारहरू साटासाट गर्नु (वातचित) गर्नुलाई जनाउँदछ । यसमा कुराकानी र सञ्चार गर्न चाहिने आवाज र सङ्केत, जसमा साङ्केतिक भाषा पनि पर्छ ।

सर्वमान्य संरचना भन्नाले कुनै पनि संरचना, उपकरण (जस्तैः घर, भवन, मोटर, कम्प्युटर, मोबाइल), जसलाई कुनै ठुलो फेरबदल बिना नै अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्न सक्छन्, यस्तोमा अपाङ्गता भएकाहरूका लागि प्रयोग हुने सहायक सामग्री समेत पर्छन् ।

उपयुक्त अनुकूलता भन्नाले अपाङ्गता भएका व्यक्तिहरूलाई अरूहरूले जस्तै सबै अधिकार, सेवा, सुविधा र अवसरहरूको समान उपयोग गर्न वा प्रयोग गर्न सक्षम बनाउन, अरूसरह दैनिक कामकाज, लेखपढ, रोजगारी, सामाजिक कामहरू आदिमा समावेश हुन सजिलो बनाउन कुनै निश्चित अवस्थामा मात्र चाहिने र थप वा धेरै खर्च नगरिकनै दिनेखालका विशेष सुविधा, सेवा वा वातावरणमा गरिने सुधारहरू भन्ने बुझ्नुपर्छ ।

उपयुक्त अनुकूलताका केही उदाहरण

जस्तैः विशेष प्रकारका मेच वा टेबल, शौचालयहरूमा समातेर बस्न सजिलो हुनेगरी राखिने समात्ने बारहरू, दृष्टिबिहीन व्यक्तिहरूलाई कम्प्युटरमा काम गर्न सहज हुनेगरी जडान गरिने विशेष प्रकारका सफ्टवेयर आदि ।