कोभिड १९ कोरोना भाइरस बिरुद्धको प्रेस विज्ञप्ती
मिति २०७६/१२/१८ गते
कोभिड १९ कोरोना भाइरस संक्रमणसँग बिश्व संघर्ष गरिरहेको छ । संक्रमणको महामारिले यो प्रेस बिज्ञप्ती तयार गर्दा सम्म ३९१०५ भन्दा वढीको मृत्यु ८०२७३६ भन्दा वढी संक्रमित देखिएका छन् । सम्पूर्ण नेपाली नागरिक, अपाङ्ता भएका ब्यक्तिहरु हाल कोरोना भाइरसबाट उत्पन्न महामारीसँग लडिरहेको र यस घडिमा नेपाल सरकारले नागरिकहरुको जिवनरक्षाको लागि गरिरहेको प्रयासको लागि राष्ट्रिय अपाङ्ग महासघ नेपालको तर्फबाट हार्दिक धन्यबाद दिदै, सम्पूर्ण नागरिकहरुलाई धैर्यधारण गर्न अपिल गर्दछ । यस संकटको घडीमा सरकारले सामाजिक संरक्षण तथा राहत प्याकेजका स्वागतयोग्य कार्यक्रमहरु पनि घोषणा गरेको छ । तर अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, दिर्घरोगी बिरामी, गर्भवति तथा सुत्केरी महिला, बेसहारा बालबालिका, अभिभावक बिहिन बालबालिका र शिशुका लागि र मजदुरहरु, सुकुम्वासी, यौनिक तथा लैंगिक अल्पसंख्यक बर्ग समुदायमासम्म प्रभागकारी ढंगले पुग्ने र पुर्याउने कुरामा बिश्वास छ ।
कोरोना संक्रमन रोकथाप र न्यूनिकरणको संघीय सरकारले नेतृत्व लिएको देखिए पनि प्रदेश र स्थानीय सरकारको भूमिका बिना संघीय सरकारले मात्र सबै काम फत्ते गर्न कठिन हुन्छ । हाल प्रदेश र स्थानीय सरकारले गरेका सराहनिय कार्यहरुको स्वागत गर्दै,
स्थानीय तहमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको बिशिष्ठिकृत आवश्यतामा ध्यान नपुगेको प्रति तिनै तहका सरकार समक्ष राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सम्बद्ध सबैको ध्यानकर्षण गराउदै अवका कार्यहरुमा ध्यान पुगोस भनि देहाको अनुरोध गर्दछ ।
- लकडाउनको अवधि लम्बिएसँगै देशभर ६ वटा प्रदेशका बिभिन्न आवासिय पुनर्स्थापना केन्द्र, बिषेश बिद्यालय, छात्राबास, निजी छात्रबास, ब्यवसायिक तालिम केन्द्रमा लगायतका ठाउँहरुमा सामुहिक आवासिय रुपमा बसोबास गरिरहेका १२८९ जना अत्यावश्यक स्वास्थ्य र हाइजिनसँग सम्बन्धित डाइफर, सिआइसि(प्लेन) क्याथेटर, फोलि (Folly) क्याथेटर, कण्डम क्याथेटर, युरिन ब्याग, जाइलोकोन जेली, सेनेटरी प्याड, हेण्ड ग्लोव (स्वास्थ्य कर्मीले प्रयोग गर्ने जस्तो रवरको सेता पन्जा) प्रयोगकर्ताहरुलाई उक्त सामानको अभावमा दैनिक जिवन कठिन भइरहेको छ । त्यसैले उक्त सामानहरुको उपलब्धता र बितरणको ब्यवस्था गर्नु पर्ने ।
- राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्ति तथा सम्बन्धित सबै सरोकारवालाहरूका लागि कोभिड – १९ को महामारी विरूद्ध अपाङ्गता समावेशी प्रतिकार्य का लागि तयार गरेको सामान्य मार्गदर्शन सम्बद्ध सबैले कार्यान्वयन गर्नु पर्ने
- करीव ६०० भन्दा माथीको संख्यामा रहेका हेमोफेलिया अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्ने फ्याक्टर औषधी बिदेशबाट आउने गरेकोमा अन्तर्राष्ट्रिय उडानहरु लामो समयका लागि रोक लगाएसँगै यति वेला सेवा दिने निकायहरुसँग समेत मौज्दात शुन्य अवस्थामा रहेको हुँदा यथासिघ्र फ्याक्टरको ब्यवस्था गर्नु पर्ने ।
- कोरोना भाइरसको संक्रमण र यसबाट बच्न हरेक व्यक्तिले अपनाउनुपर्ने उपायहरूको बारेमा उत्पादन गरिएको जनचेतनामुलक सूचनाहरूलाई सांकेतिक भाषा, अडियो, भिजुअल, सचित्र र सरल भाषाको प्रयोग गरेर सबैको पहुँच हुनेगरि पटक पटक प्रवाह गर्नुपर्ने ।
- अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक, बालबालिकाहरुको प्रत्यक्ष हेरचाह तथा स्याहारमा कार्यरत अभिभावक सहयोगीहरुलाई रोगको संक्रमण हुन नदिने सरसफाइ र सावधानीबारे जनचेतनामुकल सूचनाहर प्रबाह गर्नु पर्ने । (जस्तै: ह्विचियर प्रयोगकर्ताको ह्विलचियरको बाहिरी रिङ्गबाट सेतो छडी प्रयोगकर्ताको सेतो छडी सांकेतिक भाषाको माध्यमबाट कुरा गर्दा पटक पटक हात नाक मुख नजिक पुर्याउनु पर्ने हुन्छ त्यसैले जोखिम बढी हुन्छ ।)
- क्वोरेन्टाइन जोनको भौतिक अवस्था, शौचालय र त्यहाँ उपलब्ध गराइने अन्य सेवा सुविधाहरू ह्वीलचियर प्रयोगकर्ता, बैशाखी प्रयोगकर्ता, दृष्टिविहीन व्यक्ति, बौद्दिक अपाङ्गता, अटिजम, हेमोफिलिया, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त बनाइनुपर्ने वा उनीहरूको आवश्यकतालाई ध्यान दिनु पर्ने ।
- आइसोलेसन वार्डहरूको भौतिक अवस्था, शौचालय र त्यहाँ उपलब्ध गराइने अन्य सेवा सुविधाहरू ह्वीलचियर प्रयोगकर्ता, बैशाखी प्रयोगकर्ता, दृष्टिविहीन व्यक्ति, बौद्दिक अपाङ्गता, अटिजम, हेमोफिलिया, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त हुनु पर्ने ।
- क्वारेन्टाइनमा रहेको अवस्थामा वा कोही अपाङ्गता भएको व्यक्ति संक्रमित भएको कारणले आइसोलेसनमा राख्दा यदि उसले आफ्नो शारीरिक वा मानसिक अवस्थाको कारण कुनै नियमित औषधी सेवन वा प्रयोग गरिरहेको, कुनै स्वास्थ्य सम्बन्धी उपकरण वा सामग्री प्रयोग गरिरहेको भएमा सो कुरा नियमित हुने व्यवस्था मिलाउनुपर्ने ।
- क्वारेन्टाइन जोन वा आइसोलेसन वार्डहरूमा प्रवाह गरिने सूचनाहरू बहिरा व्यक्ति, दृष्टिविहीन व्यक्ति, बौद्धिक अपाङ्गता भएका व्यक्ति लगायत सबैको पहुँच हुनेगरी सांकेतिक भाषा, ब्रेल, अडियो, चित्र र पढ्न वुझ्न सबैलाइ सहज हुने भाषा र विधिबाट उपलब्ध गराउनु पर्ने ।
- पूर्ण र अति अशक्त (रातो परिचयपत्र र निलो परिचयपत्र भएका) अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेषे प्राथमिकता साथ सुविधाहरू उपलब्ध गराउनुपर्ने र उनीहरूका लागि औषधी, उपचार लगायत भाइरसको संक्रमणबाट सुरक्षित रहन यस्तो अवस्थामा हुने थप खर्चको भारलाइ विचार गरि सामाजिक सुरक्षा भत्ता बढाउनुपर्ने ।
- यदि बहिरा वा सुनाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूमा संक्रमण भएर क्वारेन्टाइन र आइसोलेसन वार्डहरूमा राखेर सेवा दिनुपर्ने अवस्थामा आवश्यकता अनुसार सांकेतिक भाषा दोभाषेको व्यवस्था गर्ने ।
- अपाङ्गता भएका व्यक्तिहरूमा संक्रमण देखिएको कारणले आइसोलेसनमा राख्नुपर्दा उनीहरूको अवस्था अनुसार चाहिने उपयुक्त अनुकुलता, सहायक सामग्री, सहयोगी सेवा उपलब्ध गराउनुपर्ने ।
…………………..
राजु बस्नेत
महासचिव