प्रेस विज्ञप्ति: महासङ्घ को २५अौं वार्षिकोत्सव

 

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल विधिवत स्थापना भई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकारका लागि निरन्तर कृयाशिल रहेको आज २५ बर्ष पुरा भएको खुशी सबैसँग व्यक्त गर्न पाउँदा हामीलाई ज्यादै खुशी लागेको  छ । २०५० साल भदौ १५ गते ८ वटा संस्था आवद्ध भएर सानो महासंघको रूपमा विधिवत स्थापना भएर काम सुरू गरेको यो संस्था आजको मिति सम्म आइपुग्दा ३३५ सदस्य संस्था सहित देशभरी फैलिइसकेको छ । देशभरीका सबै अपाङ्गता भएका व्यक्तिहरू आज एउटै साझा संस्थाको छातामुखि गोलबद्ध र संगठित भएका छौँ भन्न पाउँदा हामीलाई ज्यादै गर्वको महसुस भएको छ ।

देश संघीयतामा प्रवेश गरेसँगै महासंघले पनि सातबटै प्रदेशमा आफ्नो दरिलो उपस्थिति देखाइसकेको छ । कयौँ समस्या, चुनौति, अप्ठ्यारा र उतार चढावको बावजुद पनि महासंघले २५ वसन्त मात्र पार गरेन राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको साझा अधिकारको लागि निरन्तर लागि पर्ने  परिवक्व र विश्वासिलो नेपाली अपाङ्गता भएका व्यक्तिहरूको एकमात्र साझा छाता संस्थाको रूपमा आफूलाई स्थापित गर्न सक्षम भएको छ ।

महासंघले आफ्नो २५ वर्षे यात्रामा अपाङ्गताका सवालहरूलाइ समाजमा स्थापित गर्न, अपाङ्गता भएका व्यक्तिहरूका लागि नीति नियमहरू ल्याउन राज्यलाई तयार गर्न, अपाङ्गता सम्बन्धी नीति, नियम र कानूनहरूको निर्माण र कार्यान्वयनमा सरकारलाई सघाउन, अपाङ्गता भएका व्यक्तिहरूका लागि सेवा सुविधाहरूमा अभिवृद्धिको लागि सरकारलाई प्रभाव पार्न, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधिलाई राज्यबाट अनुमोदन गराउन, महासंधि अनुकुल कानून बनाउन सरकार र नीति निर्माताहरूलाइ प्रभाव पार्न, नेपालको नयाँ संविधानमा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाइ समावेश गराउन र अपाङ्गताको परिभाषा र वर्गीकरणलाई समय सापेक्ष सुधार र परिमार्जन गराउन राष्ट्रिय अपाङ्ग महासंघले आफ्ना सदस्य संस्था, साझेदार निकायहरू, नागरिक समाज, संचार माध्यमहरूको साथ लिएर  निकै महत्वपूर्ण भूमिका खेलेको छ । वर्तमान अवस्थामा राष्ट्रिय अपाङ्ग महासंघ अपाङ्गता अधिकार आन्दोलनमा सबै सरोकारवालाहरूलाई साथ लिएर नेतृत्वदायी भूमिका खेल्दै अगाडी वढ्न सक्ने क्षमता, अनुभव, सीप र स्रोत भएको संस्थाको रूपमा स्थापित भएको छ ।

हामीले खास गरेर नीतिगत परिवर्तन र अपाङ्गता सम्बन्धी सरोकारवालाहरूमा चेतनाको अभिवृद्धिमा निकै राम्रा उपलब्धी र कोशेढुंगाहरू हासिल गरेका छौँ । यी सबै सकारात्मक परिवर्तन र उपलब्धीहरू हामी सबैका संयुक्त हुन र यसमा सबैको हिस्सा लाग्छ । तसर्थ आज २५ औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको हक र अधिकार प्राप्तिको २५ वर्षे संघर्षमा महासंघलाई निरन्तर साथ दिनुहुने देशभरीका अपाङ्गता व्यक्तिहरू, सदस्य संस्थाहरू, महासंघका विभिन्न संरचना तथा त्यस अन्तर्गत विभिन्न समयमा समितिमा रहेर वा कर्मचारीको रूपमा काम गर्नुहुने सबै महानुभावहरू,  साझेदार निकायहरू, अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने संस्थाहरू, यस क्षेत्रमा सेवा दिने सेवा प्रदायक संस्थाहरू, मानवअधिकार कर्मी, संचार माध्यमहरू, विभिन्न सरकारी निकायहरू, नीति निर्माता, राजनैतिक दलहरू, विकास साझेदारहरू, राष्ट्रसंघीय निकायहरू लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।  यस महत्वपूर्ण घडीमा भविश्यमा समेत यस्तै साथ सहयोग र सहकार्यको अपेक्षा राख्दै हार्दिक सम्पूर्ण राष्ट्रिय अपाङ्ग महासंघ परिवारको तर्फबाट यहाँहरू सबै जना र नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद

सुदर्शन सुवेदी
संघीय अध्यक्ष
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

मितिः २०७५/५/१५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *