राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले माघ ९, २०७४ मा पत्रकार सम्मेलनको आयोजना गरी श्री हरि बुढा मगरको सगरमाथा आरोहणको यात्राको अभियानमा आफ्नो एकिबद्धता जनाएको छ । यस पत्रकार सम्मेलनको मुख्य उद्देश्य नेपाल सरकारले हालै “अपाङ्गता भएका व्यक्तिहरूलाई सगरमाथा चढ्न रोक” लगाउन ल्याएको नियम विभेदकारी रहेको जानकारी दिनका साथै सो नियम खारेजको लागी सम्बन्धी सबैको ध्यानाकर्षण गर्नु थियो ।
श्री हरि बुढा मगर लामो समयदेखि नै सक्रिय रूपमा खेलकुद र साहसिक कार्यमा सक्रिय रहनु भएका व्यक्ति हुनुहुन्छ र आफूमा अपाङ्गता भएतापनि विभिन्न साहसिक गतिविधिहरूमा सहभागिता जनाउनु भएको छ । उहाँ पूर्व गोरखा सैनिक हुनुहुन्छ जसले युद्धका क्रममा आफ्ना दुवै खुट्टा गुमाउनु परेको थियो । हाल उहाँ कृतिम खुट्टाको प्रयोग गरी सजिलै हिड्डुल गर्न सक्नुहुन्छ ।

सो कार्यक्रममा महासङ्घका अध्यक्ष श्री सुदर्शन सुवेदीले हरीजी प्रति नेपाली अपाङ्गता समुदायको एकिबद्धता जनाउँदै – अपाङ्गताका बाबजुत केही साहसिक कार्य गरेर देखाउन खोजिरहेका हरि बुढा र उहाँ जस्तै अन्य साहसी व्यक्तिहरूलाई सरकारले प्रोत्साहन गर्नको सट्टा सगरमाथा चढ्नका लागि रोक लगाउने जस्ता निर्णयले सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू माथि नै विभेद गरेको भनेर दुःख व्यक्त गर्नुभयो । नेपालमा पहुँचयुक्त पर्यटनको विकास गरेर संसारभरका अपाङ्गता भएका र जेष्ठ नागरिक पर्यटकहरूलाई नेपाल ल्याउन सकेमा देशको आर्थिक विकास समेत हुने बताउँदै अध्यक्ष सुवेदीले यस तर्फ उन्मुख हुन सरकारले पहिलो कदमका रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभेद गर्ने यस्ता कानुन र नियमहरू खारेज गरीनुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा श्री हरि बुढा मगरले आफूले ६ हजार मिटरसम्मका हिमालहरू सफलता पूर्वक आरोहण गरिसकेको र आफू सगरमाथा पनि चढ्न सक्नेमा विश्वस्त भएको जानकारी गराउनु भयो । साथै आफ्नो साहासिक क्रियाकलापबाट अपाङ्गता भएका व्यक्तिहरू पनि हरेक कुरा गर्नका लागि सबल रहेको तर त्यसका लागी पहुँचयुक्त वातावरणको खाँचो भएको कुरा फैलाउन मद्दत पुग्ने पनि बताउनु भयो।

केही दिन अघि पनि यसै सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष श्री सुदर्शन सुवेदी र श्री हरि बुढा मगर सहित अपाङ्गता अधिकारमा क्रियाशील समूहले सम्मानिय पर्यटन मन्त्री श्री जितेन्द्र नारायण देव ज्यू सँग भेटघाट भएको थियो । भेटघाटको क्रममा सम्मानिय मन्त्री ज्यू समक्ष अध्यक्ष ज्यू र उहाँको समूहले “अपाङ्गता भएका व्यक्तिहरूलाई सगरमाथा चढ्न रोक” सम्बन्धी नियममा संशोधन गर्नुपर्ने माग सहित ज्ञापन पत्र बुझाएको थियो । यस विषयमा पर्यटन मन्त्री ज्यूले विभिन्न स्रोतहरूबाट पनि सुझावहरू आएका र यसमा अझै छलफल गर्न जरुरी भएको र छलफलपछि रोकमा लागाईएको नियम खारेजी हुनसक्ने आश्वासन दिनुभएको थियो ।
More about Hari Budha Magar can be found in this webiste.