स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिको अनुभव आदान कार्यक्रम सम्पन्न

विश्व मानव अधिकार दिवस र अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिहरु विच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा नेपाल हिमोफेलिया सोसाइटीका निवर्तमान अध्यक्ष बेदराज ढुङ्गानाले माइराइटसँगको सहकार्यमा हिमोफेलियायुक्त व्यक्तिहरुको स्वास्थ्यको लागि गरिएको सहयोगको लागि माइराइटलाई धेरै धेरै धन्यवाद दिनु भयो भने नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले माइराइटसँग सन् २००७ देखि भएको सहकार्यवाट प्राप्त उपलब्धिहरूलाई स्मरण गर्दै सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिहरु विच अनुभव आदान प्रदान कार्यक्रममा माइराइट स्वीडेनका कार्यक्रम अधिकृत मिकेलले माइराइट स्वीडेनले विश्वका २३ वटा देशमा अपाङ्गता भएकका व्यक्तिका लागि काम गर्दै आएको र नेपालमा पनि अपाङ्गताको क्षेत्रमा काम गर्न पाउँदा र यहाँ भएका उपलब्धिको वारेमा जानकारी पाउँदा ज्यादै खुशी भएको कुरा व्यक्त गर्दै नेपालको संविधान, २०७२ मा समावेश गरिएको अपाङ्गताको सवाल सम्बन्धी व्यवस्था र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ लाई कार्यान्वयन गर्नको लागि सहकार्य गर्न तयार रहेको बताउनु भयो।

युवा मानव अधिकारकर्मी गणेशप्रसाद घिमिरेले सबै सार्वजनिक संरचनाहरु अपाङ्गता मैत्री बनाउनको लागि सबै मिलेर काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरि राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रशासकिय व्यवस्थापक मनिष प्रसाईले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ निर्माणको लागि पैरवी र परामर्शका लागि सरकारलाई समेत माइराइटसको सहयोग रहेको पुन स्मरण गराउँदै यसले अपाङ्गता भएका व्यक्तिहरूको जीवन परिवर्तनमा सहयोग पुर्याउने विश्वास लिएको बताउनु भयो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा माइराइटको सहकार्यमा गरिएको स्वीडेन र नेपालका अपाङ्गता भएका व्यक्तिहरु विच अनुभव आदान प्रदान कार्यक्रमको सञ्चालन राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले गर्नु भएको थियो ।

(यो समाचार शर्मिला विश्वकर्मा तयार गर्नुभएको हो र यसलाई फेवा न्यूज अनलाईनबाट साभार गरिएको हो। यसमा प्रयोग गरिएका तस्बिरहरूको सर्वाधिकार पनि शर्मिला विश्वकर्मा र फेवान्युज मै निहित छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *