विश्व अपाङ्गता अधिकार अभियन्ता जावेद अविदीको निधनको शोक वक्तब्य

विश्व अपाङ्गता अधिकार आन्दोलनका अग्रणी नेता तथा अन्तराष्ट्रिय अपाङ्गता जनपरिषद (Disabled Peoples’ International) का अध्यक्ष श्री जावेद अविदीको असामयिक निधनको खवर सुन्दा हामी सबै मर्माहित भएका छौँ । ४ मार्च २०१८ मा छातिमा भएको संक्रमणका कारण ५३ वर्षको उमेरमा वहाँको निधन भएको खवर प्राप्त भएको हो र यस घडीमा सम्पूर्ण राष्ट्रिय अपाङ्ग महासंघ परिवार वहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।श्री अविदी National Center for Promotion of Employment for Disabled People (NCPEDEP) का निर्देशक र अन्तर्राष्ट्रिय अपाङ्गता जनपरिषदका अध्यक्ष हुनुहन्थ्यो ।

श्री अविदीको जन्म भारत उत्तरप्रदेशको अलिगढ भन्ने ठाउँमा सन १९६५ मा भएको हो । वहाँ एक शारीरिक अपाङ्गता भएका व्यक्ति हुनुहन्थ्यो । वहाँलाइ जन्मजात स्पाइनावाइफिडाको समस्या थियो र ८ वर्ष सम्मपनि सल्यकृया हुन नसक्दा नशा सम्बन्धी क्षतिको कारण वहाँले शारीरिक अपाङ्गताको अवस्थामा रहनुपरेको थियो । १० वर्षको उमेरमा लडेर वहाँको शारीरक अवस्थामा थप समस्या आएको थियो । यसपश्चात वहाँको परिवार अमेरिका गएर वसोवास गर्न थाल्यो र वहाँलाइ अमेरिकास्थित वोस्टन बाल अस्पताल र सिकागो पुनर्स्थापना केन्द्रमा वहाँको पुनर्स्थापना र रेखदेख भयो । १५ वर्षको उमेरदेखी ह्वीलचियर प्रयोग गरी हिँडडुल सुरू गर्नुभएका अविदीले अमेरिकाकै Wright State University मा उच्च शिक्षा अध्ययन गर्नुभयो ।

javed-abidi-bccl
Picture Caption: File Image of Javed Abidi. Source: BCCL/India Times

अध्ययन सकेपछि पत्रकारिता क्षेत्रमा काम गर्ने इच्छा राखि आफ्नै देश भारत फर्कनुभएका अविदीलाई भारतमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको अवस्थाले त्यतातिर लाग्न दिएन । वहाँले राजीव गान्धी फाउन्डेसनमा अपाङ्गता इकाइको सुरूवात गर्दै आफूलाई अपाङ्गता आन्दोलनमा सुम्पनुभयो । एक वर्षपछी वहाँले अपाङ्गता अधिकार समुह नामक एक जनवकालत गर्ने अपाङ्गता अधिकारकर्मीहरूको समुहमा प्रवेश गर्नुभयो र भारतमा अपाङ्गता अधिकार आन्दोलनलाई नेतृत्व दिनुभयो ।

१९९५ मा वहाँको नेतृत्वमा भारतमा भएको अपाङ्गता अधिकार आन्दोलन र १९ डिसेम्वरमा संसद भवन अगाडी भएको प्रभावशाली प्रदर्शनलाई निकै उपलब्धीपूर्ण मानिन्छ जसको कारण भारत सरकार अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी कानुन ल्याउन बाध्य भएको थियो । यसैगरी सन २००४ मा अपाङ्गता भएका व्यक्तिहरूको लागि निर्वाचन प्रकृयालाई अपाङ्गता मैत्री र पहुँचयुक्त बनाउन वहाँले भारतका सर्वोच्च अदालतका प्रधान न्यायधिशलाई लेखेको पत्र र सोही आधारमा सर्वोच्चमा दर्ता गरिएको मुद्दा र यसमा अपाङ्गता भएका व्यक्तिको पक्षमा भएको फैसलाले पनि वहाँको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवीलाई उच्च राखेको थियो ।

पछिल्ला दिनहरूमा भारतमा सवैका लागि पहुँचयुक्त भौतिक संरचना निर्माणको लागि चलेको लोकप्रीय अभियान “सुगम्य भारत” मा वहाँको योगदान निकै महत्वपूर्ण रहेको थियो ।

सुदर्शन सुबेदी
केन्द्रीय अध्यक्ष, राष्ट्रिय अपाङ्ग महासँघ नेपाल
कोषाध्यक्ष, अन्तराष्ट्रिय अपाङ्गता जनपरिषद (Disabled Peoples’ International)

(More about Javed Abidi can be read here.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *