अपांगतामैत्री प्रविधि हुनुपर्ने माग

अपांगता भएका अधिकारकर्मीहरुले सूचना, सञ्चार र प्रविधि अपांगतामैत्री हुनुपर्ने माग गरेका छन्। सातौँ विश्व पहुँच सचेतना दिवसको अवसरमा राष्ट्रिय अपांग महासंघ नेपालद्वारा यहाँ बिहीबार आयोजित अन्तक्रियामा अधिकारकर्मीहरुले प्रत्येक सञ्चारमाध्यम अपांगतामैत्री हुनुपर्नेमा जोड दिएका छन्।

महासंघका महासचिव राजु बस्नेतले अपांगतामैत्री भौतिक संरचना र अपांगतामैत्री प्रविधि बन्न सुरु भए पनि त्यसले पूर्णता पाउन नसकेको बताए। टेलिकमले गत वर्षदेखि सुनाइ र बोलाइसम्बन्धी अपांगता भएका व्यक्तिका लागि सहुलियत दरमा भिडियो कल र एसएमएस सेवा सुरु गरेको छ।

सरकारले अपांगता भएका व्यक्तिका लागि ‘पहुँचयुक्त सञ्चार सेवा’ र प्रेस काउन्सिल नेपालले ‘अपांगतामैत्री सञ्चार निर्देशिका’ जारी गरेसँगै सञ्चारमाध्यम केही मात्रामा भए पनि अपांगतामैत्री बन्दै गएको पाइन्छ।

gaad
तस्बिर विवरण: आयोजित कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै एक वक्ता। तस्बिर स्रोत: प्रज्ञा लम्साल, सिबिएम्

निर्देशिकामा ‘पत्रकार र सञ्चारमाध्यमले सांकेतिक अभिव्यक्तिका क्रममा अपांगता भएका व्यक्तिको गरिमामा प्रतिकूल असर पर्ने परम्परागत प्रचलनमा रहेका शब्द, शब्दावली, उपमा वा उखान टुक्काको प्रयोग गरी समाचार सम्प्रेषण गर्नु हुँदैन भनिएको छ।

दृष्टिविहीनसम्बन्धी अपांगताका लागि पुस्तक पढ्न सक्ने ‘अडियो पुस्तक’ को समेत व्यवस्था गरिएको छ। प्रविधिका कारण न्यून दृष्टियुक्त व्यक्तिले कम्प्युटर र अडियोबाट पनि अध्ययन गर्न सक्छन्।

महासंघका उपाध्यक्ष टीका दाहालले सबै प्रकारका अपांगता भएका व्यक्तिलाई समेत पहुँचयुक्त बनाउनका लागि नीतिमै सुधार गर्नुपर्नेमा जोड दिए।

महासंघका कार्यक्रम अधिकृत विमल पौडेलले २०६८ सालमा सरकारले ल्याएको वेबसाइट निर्माण निर्देशिकाको संशोधनसहित कार्यान्वयन गर्नुपर्ने बताए।

यो समाचार कान्तिपुर दैनिकको साईटबाट साभार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *