राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा माननीय महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला ज्यूलाई अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था र राजनैतिक पार्टीका (अपाङ्गता सम्बन्धी) भातृसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको समुहले नेपाल सरकारको मन्त्री परिषदमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको मन्त्रीको जिम्मेवारी पाउनु भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
फोटो क्यापसनः माननीय मन्त्री आशा कोईराला अपाङ्गता अधिकारकर्मी सँगको भेटमा आफ्नो प्रतिवद्धता जाहेर गर्नुहुँदै
यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७३ को विधेयक व्यवस्थापिका संसदबाट पास गर्नको लागि अनुरोध सहितको मागपत्र माननीय महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालालाई हस्तान्तरण गर्नु भएको थियो । ७ वटै प्रदेशमा एक एक वटा हाम्रो गाउँ नमुना गाउँ कार्यक्रम संञ्चालन गर्नु पर्ने र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७३ लाई व्यवस्थापिका संसदबाट पास गर्न पहल गरी दिनु हुन अनुरोध गर्नु भयो ।पूर्व सभासद इन्द्रमाया गुरुङ्गले राज्यका सबै निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
फोटो क्यापसनः माननीय मन्त्रीज्यू सँगको भेटघाट पश्चात अपाङ्गता अधिकारकर्मीहरू वहाँसँग सामुहिक तस्बिर खिचाउँदै।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नेतृत्वमा गरिएको सो भेटघाट कार्यक्रममा माननीय महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७३ को विधेयकलाई एक हप्ता भित्रमा पारीत गर्नका लागि ब्यवस्थापिका संसदमा पेश गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै देशभरीका भौतिक संरचनाहरु अपाङ्गता मैत्री बनाउने कुरामा जोड दिदै अपाङ्गता भएका व्यक्तिहरुका हक, हित र अधिकार सुनिश्चित गर्नका संस्थागत रुपमा रचनात्मक सल्लाह सुझाव र आवश्यकता परे खवरदारी गर्न आग्रह गर्नु भयो ।
(शर्मिला विश्वकर्माले तयार गर्नुभएको समाचार।)