अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागि महासंघद्वारा सर्वोच्च अदालतमा मुद्दा दायर

अपाङ्गता भएका ब्यक्तिहरुको राजनैतिक अधिकार प्राप्तिको लागि २०७४ असोज २२ गते राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

नेपालको संबिधानको धारा ४२ को उपधारा (१) र (३), धारा ८४ को उपधारा (१) को खण्ड (ख) र उपधारा २ र ३, त्यस्तै धारा १७६ को उपधारा १ को खण्ड (क) र (ख), उपधारा ६, ७, अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन तर्फ अनिवार्य प्रतिनिधित्वको व्यवस्था गराउनपर्ने संवैधानिक व्यवस्था र राज्य पक्ष रहेको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको धारा २९ मा भएका व्यवस्थाहरूको भावना र मर्म विपरित हुनेगरी र सम्विधानमा भएको व्यवस्थासँग वाझिनेगरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा ५, ६ र प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा २८ को उपदफा ५, ६, मा अपाङ्गता भएका व्यक्तिहरुलाई प्रतिनिधित्व गराएपनि हुने र नगराएपनि हुने जस्तो अर्थ र आसय भएको व्यवस्था गरेको र सम्विधानले दिएको अधिकारलाई ऐनमा खुम्च्याउने र फितलो बनाउने प्रयास गरेको भन्दै सोको कानुनी उपचारको लागि उक्त मुद्दा दायर गरिएको हो ।

प्रधानमन्त्री, मन्त्रीपरिषदको कार्यालय, निर्वाचन आयोग, मौजुदा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दल, संसद सचिवालय, व्यवस्थापिका संसद लगायतलाई विपक्षी बनाई राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट अध्यक्ष श्री सुदर्शन सुवेदी र जुम्ला जिल्ला कर्ज्याङ्कोट गाउँपालिका वडा नं ६ वस्ने अपाङ्गता भएका व्यक्ति श्री धन प्रसाद न्यौपानेले संयुक्त रूपमा दर्ता गराएको दर्ता गराइएको उक्त रीटमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची १ मा पिछडीएको क्षेत्रका नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई बन्द सूचीमा समावेश नगराई निर्वाचन आयोगमा बन्द सूची दर्ता नपाउने गरी विपक्षिहरूको नाममा प्रतिषेधको आदेश जारी गर्न र अपाङ्गता भएका व्यक्तिहरूको बन्दसूचीको लागि समानुपातिक समावेशी आधारमा राष्ट्रिय जनगणना २०६८ अनुसार जनसंख्याको आधारमा अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रका नागरिकहरूलाई समेत समावेश गरी प्रतिनिधित्व गराउन बन्द सूचीको समावेशी आधार तयार गर्नेगरी आदेश जारी गर्न माग गरिएको छ ।

सर्वोच्च अदालतले उक्त मुद्दामाथिको पहिलो सुनुवाई गर्न आजैको (२०७४ असौज २३) मिति तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *