प्रेस विज्ञप्ति
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि दृष्टिविहीन शिक्षक शोभा पौडेलको आमरण अनशन प्रति ऐक्यबद्धता जनाउन जारी
प्रेस विज्ञप्ति
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ (CRPD), नेपालको संविधान, र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार दृष्टिविहीन महिला शिक्षकको लागि पहुँचयुक्त विद्यालयमा पदस्थापन गरी आफ्नो रोजगारको अधिकार सुनिश्चित गरियोस् भन्ने माग गर्दै आजदेखि गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालय तथा शिक्षा विकास तथा समन्वय इकाई कास्कीको प्रवेश द्वारमा आमरण अनशन सुरु गर्नु भएको दृष्टिविहीन शिक्षक शोभा पौडेलको माग प्रति ऐक्यबद्धता व्यक्त गर्न चाहन्छ।
शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा सहभागी भई निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस भई पदस्थापनको क्रममा लमजुङ जिल्लाको विकट स्थान दोर्दी गाउँपालिका स्थित एक विद्यालयमा पदस्थापन भएपछि उक्त विद्यालय दृष्टिविहीन शिक्षकका लागि कुनै पनि हिसाबले पहुँचयुक्त छैन र निजलाई हाजिर गराउन सकिँदैन भन्ने ब्यहोराको विद्यालयको पत्र, सम्बन्धित गाउँपालिकाको पत्र र शिक्षा विकास तथा समन्वय इकाई लमजुङको पत्र प्राप्त भइसकेपछि निजले आफूलाई पायक पर्ने र पहुँचयुक्त विद्यालयमा पदस्थापन र हाजिर गरी सहज रूपमा कार्य गर्न सक्ने वातावरण सिर्जना गर्नको लागि विभिन्न निकायमा अनुरोध गर्दा समेत सुनुवाइ नभएको तर्फ महासङ्घको गम्भीर ध्यान आकर्षण भएको छ।
एका तर्फ निजलाई खटाइएको विद्यालय भौगोलिक हिसाबले कठिन, दृष्टिविहीन शिक्षकलाई कार्य सम्पादनका लागि आवश्यक न्यूनतम पहुँचयुक्त पूर्वाधार, उपयुक्त अनुकूलता लगायतको व्यवस्था नभएको कारण उनको व्यावसायिक कर्तव्य पूरा गर्न निकै चुनौतीपूर्ण देखिन्छ। अर्को तर्फ उनी स्वयम् दृष्टिविहीन भएको, उनले पूर्ण दृष्टिविहीन व्यक्तिसँग विवाह गरेको साथमा २ छोराहरू समेत रहेको कारण उनको पारिवारिक अवस्था समेत झनै जटिल रहेको छ ।
नेपाल सरकार अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि २००६ को पक्ष राष्ट्र हो। जुन महासन्धिले अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार प्रदान गर्दा अपाङ्गताको अवस्था अनुसार पहुँचयुक्त स्थानमा पदस्थापन गर्नुपर्ने भन्ने उल्लेख गरेको छ। यसै गरी नेपालको संविधानले पनि रोजगारको अधिकार लाई मौलिक अधिकारको रूपमा उल्लेख गरेको छ। अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले पनि अपाङ्गता भएका व्यक्तिलाई जागिरमा पदस्थापन गर्दा पहुँचयुक्तता लाई ध्यान दिनुपर्ने कुरा स्पष्ट उल्लेख गरेको छ।
अतः आमरण अनसनरत दृष्टिविहीन शिक्षक शोभा पौडेलले अनसन मार्फत राख्नु भएको माग अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा समावेश पहुँचयुक्तता, समानता, समावेशी र न्यायका सिद्धान्तहरूमा आधारित छन् भन्ने महासङ्गलाई लागेको छ।
शोभा पौडेल त केवल एक प्रतिनिधि पात्र मात्र हुन्, निजले उठाएको सवाल उनको मात्र नभएर तमाम अपाङ्गता भएका शिक्षक तथा कर्मचारीहरूको हो भन्ने महासङ्घ ठान्दछ।
महासङ्घ पोखरा महानगरपालिका भित्रको कुनै पहुँचयोग्य र दैनिक रूपमा अहिले बसोबास गरिरहेको स्थान बाट सार्वजनिक यातायातको प्रयोग गरी जान सक्ने विद्यालयमा पदस्थापन र हाजिरी गरी निजको मर्यादा पूर्वक रोजगार गर्न पाउने अधिकारको सुनिश्चितताको लागि महासङ्घ विशेष गरी शिक्षा विकास तथा समन्वय इकाई कास्की लगायत सम्बद्ध सबै सरोकार वाला निकायहरू समक्ष हार्दिक अनुरोध गर्दछ।
हामी अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको सुनिश्चित गर्ने जिम्मेवारी सबै तहका सरकारहरूको हो भन्ने कुरामा स्पष्ट छौँ।
लामो समय देखि निकै मिहिनेत गरी नि.मा.वि. तहको शिक्षकमा नाम निकाल्न सफल शोभा पौडेल अनुकूल विद्यालयमा पदस्थापन नगरिएको कारणले मानसिक रूपमा विक्षिप्त हुनुहुन्छ। यस्तो अवस्थामा आमरण अनसनरत उहाँको स्वास्थ्य स्थितिमा र जीवनमा समेत जुनसुकै बेला जे पनि हुन सक्ने जोखिम तर्फ हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ। त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकार र सम्बद्ध निकायले लिनु पर्नेछ।
अतः यथाशीघ्र वार्ताको माध्यमबाट उपयुक्त निकास निकाल्नको लागि महासङ्घ सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्न चाहन्छ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल संघीय कार्यलय, काठमाडौं शोभा पौडेलले सुरु गर्नु भएको अधिकार प्राप्तिको आन्दोलन प्रति ऐक्यबद्धता जनाउन र निजको जीवन रक्षाको निम्ति सबै राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाजका सङ्घसंस्था र सर्वसाधारणलाई आह्वान गर्दछ।
अन्त्यमा, महासङ्घले समावेशी र पहुँचयोग्य समाजको विकासको महत्त्वलाई जोड दिन्छ जहाँ अपाङ्गता भएका व्यक्तिहरू लगायत सबै नागरिकको अधिकार, तिनीहरूको अपाङ्गताको अवस्था र आवश्यकतालाई ध्यान दिई सम्मान पूर्वक काम गर्न र बाँच्न पाउने अधिकारको सुनिश्चित गरिन्छ। हामी राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र नेपालभर अपाङ्गता अधिकारको पूर्ण प्राप्ति सुनिश्चित गर्न सबै सरोकारवालाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ।
रमेश पोखरेल
प्रवक्ता