अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (सन् २००६) ले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र गरिमाको संरक्षण सुनिश्चित गरेको तथ्यलाई हृदयंगम गर्दै आमसञ्चार प्रक्रियाका क्रममा अक्षर, वचन वा दृश्यद्वारा अपाङ्गता भएका व्यक्तिको अधिकार र गरिमामा आँच आउने शब्द, शब्दावली, तस्वीर वा भाषा प्रयोग नहोस् वा आशय प्रकट नहोस् भन्ने ध्येयका साथ आमसञ्चारमाध्यम तथा पत्रकारले आफ्नो कर्तव्यपालनाका क्रममा अपाङ्गता भएका व्यक्तिप्रति थप जिम्मेवारी, संवेदनशीलता र उत्तरदायित्व वहन गर्न वान्छनीय भएकोले पत्रकार आचारसंहिता—२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालसमेतको सल्लाह र सम्मतिमा प्रेस काउन्सिल नेपालद्वारा अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ जारी गरिएको छ ।

प्रारम्भिक

१.  नाम, प्रारम्भ र विस्तार:

  • (१) यस निर्देशिकाको नाम अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ रहेको छ ।
  • (२) यो निर्देशिका प्रेस काउन्सिल नेपालले निर्णय गरेको मिति २०७३/१० /२६ बाट लागू भएको छ ।
  • (३) यो निर्देशिका नेपालमा सञ्चालित सञ्चारमाध्यम तथा नेपालभित्र रहेर पत्रकारिता गर्ने सम्पूर्ण पत्रकारलाई लागू हुनेछ ।

 

२. परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,

  • (१) ‘काउन्सिल’ भन्नाले प्रेस काउन्सिल नेपाललाई सम्झनुपर्छ ।
  • (२) ‘आचारसंहिता’ भन्नाले पत्रकार आचारसंहिता–२०७३ लाई सम्झनुपर्छ ।
  • (३) ‘निर्देशिका’ भन्नाले अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३ लाई सम्झनुपर्छ ।
  • (४) ‘समाचार सम्प्रेषण’ भन्नाले विद्युतीयलगायतका सम्पूर्ण सञ्चारमाध्यममा वितरित, प्रकाशित एवम् सञ्चारित श्रव्य, दृश्य, मुद्रण, चित्राङ्कन, छायाङ्कन एवम् विज्ञापनलगायतका सामग्रीलाई बुझाउनेछ ।
  • (५) ‘सञ्चार माध्यम” भन्नाले पत्रपत्रिका, रेडियो, टेलिभिजन, विद्युतीय सञ्चार माध्यम, समाचार एजेन्सी तथा इन्टरनेटका माध्यमबाट समाचार, सूचना, विज्ञापन, तथा विचारमूलक लेख वा कार्यक्रम उत्पादन, वितरण एवं सम्प्रेषण गर्ने संघ, संस्था, निकाय, कम्पनी, सेवा प्रदायक र सेवा सम्झनुपर्छ ।
  • (६) ‘पत्रकार’ भन्नाले कुनै सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन, सञ्चार र सम्प्रेषणजस्ता कार्यसँग आबद्ध कुनै पनि व्यक्ति वा सो कार्यसँग सम्बन्धित कुनै पनि पद, हैसियत र सम्बन्धमा काम गर्ने व्यक्तिलाई सम्झनुपर्छ ।
  • (७) ‘अपाङ्गता’ भन्नाले विभिन्न कारणले अपाङ्गता भएका व्यक्तिलाई सम्झनुपर्छ ।

 

पत्रकार र सञ्चारमाध्यमको कर्तव्य

३. पत्रकार र सञ्चारमाध्यमले अपाङ्गतासम्बन्धी समाचार सम्प्रेषण गर्दा देहायअनुसारका कर्तव्य पालना गर्नुपर्दछः

१) व्यक्तिको गरिमाको सम्मान:  पत्रकार र सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिको गरिमा र मर्यादामा  चोट नपुग्ने वा अवहेलना नहुने वा थप पीडा नदिने गरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ ।
२) अपाङ्गता भएका व्यक्तिको अभिव्यक्तिको सुनिश्चितता:  पत्रकार र सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिको मर्यादाको पूर्ण सम्मानका साथ अन्तर्वार्ता लिई उनीहरूको विचार, भावना र धारणा तोडमोड नगरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ ।
३) विशेषणको प्रयोगमा सर्तकता: पत्रकार र सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिका नाम वा सन्दर्भ उल्लेख गर्दा अनुपयुक्त र असान्दर्भिक ढंगले अपाङ्गता झल्किने शब्द वा विशेषणको प्रयोग नगरी मर्यादितरूपमा व्यक्तिको व्यावसायिक वा सामाजिक परिचय खुल्ने गरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ ।
४) थप हानी पुग्न सक्नेमा सजगता: पत्रकार र सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिलाई कुनै घटनाको साक्षी वा प्रत्यक्षदर्शीका रूपमा प्रस्तुत गर्दा उनीहरूको अवहेलना नहुने गरी समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ ।
५) अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी जानकारी: पत्रकार तथा सञ्चारमाध्यमले अपाङ्गता भएका व्यक्तिको हकअधिकारका सम्बन्धमा विद्यमान व्यवस्थाहरूप्रति सचेतता अपनाई वा अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्तिसरह व्यवहार गरी वा समावेशिताको सुनिश्चितता दिई समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ ।

पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने

४. पत्रकार र सञ्चारमाध्यमले अपाङ्गतासम्बन्धी समाचार सम्प्रेषण गर्दा देहायअनुसारका कार्यहरू गर्नहुँदैन:

१) अपाङ्गता भएका व्यक्तिको सम्मानमा ठेस पुर्याउन नहुनेः पत्रकार र सञ्चारमाध्यमले सोझो अर्थमा वा सांकेतिक अभिव्यक्तिका क्रममा अपाङ्गता भएका व्यक्तिको गरिमामा प्रतिकूल असर पर्ने परम्परागत प्रचलनमा रहेका शब्द, शब्दावली, उपमा र उखानटुक्काको प्रयोग गरी समाचार सम्प्रेषण गर्नुहुँदैन ।
२) अपाङ्गता भएका व्यक्तिको सम्मानमा चोट पुर्याउने शब्द र शब्दावलीको प्रयोग गर्न नहुनेः पत्रकार र सञ्चारमाध्यमले अपांगता भएका व्यक्तिको गरिमा प्रतिकूल हुने गरी देहायका शब्द र  शब्दावली प्रयोग गरि समाचार सम्प्रेषण गर्नुहुँदैन ।
प्रयोग गर्न नहुने शब्द, शब्दावली प्रयोग गर्नुपर्ने सही शब्द, शब्दावली
अपाङ्ग अपाङ्गता
विकलाङ्ग अपाङ्गता भएका व्यक्ति
अपाङ्ग व्यक्ति, बिषेश क्षमता भएको व्यक्ती, भिन्न क्षमता भएको व्यक्ति, फरक क्षमता भएको व्यक्ति,
बहिरो, लाटो, लाटि, बहिरा व्यक्ति, सुस्त श्रवण भएको व्यक्ति वा सुनाई र बोलाई संबन्धि अपाङ्गता भएको व्यक्ति
दृष्टिविहिन, अन्धा, कानो दृष्टि विहिन, न्यून दृष्टियुक्त व्यक्ति
सेरेब्रल पल्सी (मस्तिस्क पक्षघात) मस्तिष्क पक्षघात भएको व्यक्ति
अपाङ्ग, खोरन्डो, डुडो, ढिकिच्याउँ, लंगडो, शारीरिक अपाङ्ग वा शारीरिक रुपमा चुनौतियुक्त व्यक्तिह शारीरिक अपाङ्गता भएको व्यक्ति, पोलिमाईलाईटिस भएको व्यक्ति
अटिज्म वा अटिस्टिक अटिज्म भएको व्यक्ति
गोजेग्रो, लठेब्रो, सुस्त मनस्थिति बौद्धिक अपांगता भएको व्यक्ति
डुँडो, डुँडि एम्प्युटि भएको व्यक्ति, शारीरिक अपाङ्गता भएको व्यक्ति, हात वा खुट्टा नभएको व्यक्ति
हेमोफिलिक हेमोफिलियायुक्त व्यक्ति
डाउन सिन्ड्रम वा डाउन सिन्ड्रमबाट पिडित व्यक्ति डाउन सिन्ड्रम भएको व्यक्ति
बौलाहा, पागल, अर्धपागल, साईको मनोसामाजिक अपाङ्गता भएको व्यक्ति
कुष्ठ रोगी कुष्ठ प्रभावीत व्यक्ति
सामान्य विद्यालय मुलधारका विद्यालय वा अन्य विद्यालय
म्युट बोलाई सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरु
बाखो भकभके अपाङ्गता भएका व्यक्तिहरु
डल्ले, डल्ली होचापुड्का
भावना र व्यवहारमा समस्या भएका व्यक्ति भावना र व्यवहार संबन्धित अपाङ्गता भएका व्यक्तिहरु
विशेष विद्यालय विशेष शिक्षा प्रदान गर्ने विद्यालय
समाबेशी विद्यालय समोबेशी शिक्षा प्रदान गर्ने विद्यालय
३) अपाङ्गता भएका व्यक्तिको सम्मानमा चोट पुर्याउने उपमाको प्रयोग गर्न नहुनेः  पत्रकार र सञ्चारमाध्यमले अपांगता भएका व्यक्तिको आत्मसम्मानमा चोट पुग्ने देहायका उपमाहरू प्रयोग गरी समाचार सामग्री सम्प्रेषण गर्नु हुँदैन ।

  • लाटोजस्तो
  • कानो सरकार
  • अन्धो सरकार
  • अपाङ्ग सरकार
  • अन्धोप्रेम र अन्धभक्त
  • त्यति पनि कुरा नबुझेको हत लाटा वा लाटी, के म अन्धो हो र ? बहिरो हो र ? पागल हो र ?
  • बहिरो सरकार
  • लंगडो सरकार
  • ए ऊ त साईको भएछ
  • अपाङ्ग सरकार
  • कस्तो पागल जस्तो बक बक गरेको
  • कति बोल्न सक्या होला पागल जस्तो
  • यति पनि कुरा नबुझेको कस्तो लाटो भाको होला
  • हामीलाई अपाङ्ग बनाईदैछ
  • यो त अपाङ्ग जस्तो भएन र ? कस्तो अपाङ्ग चिया बनाएको ?
  • कस्तो अपाङ्ग जस्तो कुरा गरेको ?
४) पत्रकार र सञ्चारमाध्यमले अपांगताको अवस्था वा अपांगता भएका व्यक्तिको गरिमा मा प्रतिकुल असर पुर्याउने  देहायका उखान टुक्का प्रयोग गरी समाचार सामग्री सम्प्रेषण गर्नुहुँदैन ।

  • अन्धा(काना)को देशमा आँखा चिम्लनु, लंगडाको देशमा खुट्टो खोच्याउनु
  • आँखाको कानो नाउँ नैन सुख
  • कानो गोरुलाई औसी न पुर्ने
  • के खोज्छस् काना आखा
  • जो होचो उसको मुखमा घोचो
  • ताई भन्दा सेखी( धाक भन्दा धक्कु) ठूलो, हिड्न लाग्यो खुट्टा लुलो
  • देख्नेका आँखा फुटे सुन्नेका सही
  • धेरै कराउनेको मुख बाँङ्गो
  • नहुने मामा भन्दा कानो मामा निको
  • बौलाहा कुकुरलाई फुलबारीको डेरा
  • लाटाको खुट्टा बाटामा
  • लाँटो देशमा गाँडो तन्नेरी
  • लाटो खान्छ एक बल्डयाङ्ग, बाठो खान्छ तिन बल्डयाङ्ग
  • साउनमा आँखा फुटको गोरु सधै हरियो देख्छ
  • होचाकी जोई सबैकी भाउजु
५) दयाको पात्रका रूपमा प्रस्तुत गर्न नहुनेः  पत्रकार र सञ्चारमाध्यमले अपाङ्गताको विषयलाई संकेत, प्रतीक, हास्य–व्यङ्ग्य र दयाको पात्रका रुपमा प्रस्तुत हुने गरी समाचार सामग्री सम्प्रेषण गर्नुहुँदैन ।

विविध

५. उजुरी र कार्यवाही:

पत्रकार आचारसंहिता, २०७३ मा व्यवस्था भएबमोजिम हुनेछ ।

६. निर्देशन र सुझावः

  • (१) यो निर्देशिकाको पालना गर्न/ गराउनका लागि प्रेस काउन्सिल नेपालद्वारा समय–समयमा जारी गरिएका निर्देशन र सुझावको पालना गर्नु पत्रकार र सञ्चारमाध्यमको कर्तव्य हुनेछ ।
  • (२) उपदफा (१) बमोजिम दिइएको निर्देशन र सुझावलाई यसै निर्देशिकाको अभिन्न अङ्ग मानिनेछ ।

७. कार्यविधि बनाउन सक्नेः

  • (१) यो निर्देशिका लागू गर्न पत्रकार आचारसंहिता–२०७३ अन्तर्गत बनेको कार्यविधि लागू हुनेछ ।
  • (२) उपदफा (१) बमोजिमको कार्यविधिका अतिरिक्त पनि छुट्टै वा विशेष कार्यविधि बनाउनुपर्ने आवश्यकता प्रेस काउन्सिलले ठानेमा सोही मुताबिक विशेष कार्यविधि पनि बनाउन सकिनेछ ।

८. आन्तरिक निर्देशिकाः

  • (१) यस निर्देशिका लागू गर्ने प्रत्येक सञ्चारमाध्यमले अपाङ्गता समाचार सम्प्रेषण सम्बन्धमा आन्तरिक निर्देशिका बनाई लागू गर्नुपर्नेछ।
  • (२) उपदफा (१) बमोजिमको निर्देशिका बनेको कुरा प्रेस काउन्सिल नेपाललाई सूचित गर्नुपर्नेछ ।
  • (३) उपदफा (१) बमोजिमको निर्देशिका लागू भए/नभएको बारेमा प्रेस काउन्सिल नेपालले समय–समयमा बुझ्न, सूचना लिन वा अनुगमन गर्न सक्नेछ ।

९. बचाउः

यस निर्देशिकामा लेखिएका विषयमा यसै बमोजिम र यसमा उल्लेख नभएका विषयमा पत्रकार आचारसंहिता– २०७३ बमोजिम हुनेछ ।

१०. व्याख्या गर्ने अधिकारः

यो आचारसंहिता लागू गर्ने सम्बन्धमा बाधा अड्काउ फुकाउने एवम् यो आचारसंहिताको व्याख्या गर्ने अधिकार प्रेस काउन्सिल नेपालमा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *