अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तराष्ट्रिय दिवस को नारामा उल्लेख भएका दिगो विकासका १७ लक्ष्यहरू

अपाङ्गता भएका व्यक्तिहरूको हकअधिकार प्रवर्द्धन गर्न, उनीहरूका अधिकारहरूका बारेमा जनमानसमा चेतना फैलाउन र उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर उठाउन सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन १९९२ मा डिसेम्वर ३ लाई अन्तराष्ट्रिय अपाङ्गता अधिकार दिवसको रूपमा घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो र हालसम्म विश्वभर यस दिन विभिन्न कार्यक्रमहरू गरि यो दिवस मनाइन्छ ।

विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले सन १९७६ मा संयुक्त राष्ट्रसंघले सन १९८१ लाई “पूर्ण सहभागिता र समता” भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय वर्षको रूपमा मनाउने घोषणा गर्‍यो । सन १९८३ मा राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिहरूको अवसर समानीकरण, पुनर्स्थापना र रोकथाम मा जोड दिँदै अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्ययोजना पारित गरी लागू गर्यो र यसलाई विश्वभर प्रभावकारी रूपमा कार्यान्वयन गराउन सन १९८३ देखि १९९२ सम्मको अवधिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दशकको रूपमा घोषणा गरियो । सन १९९२ मा उक्त अपाङ्गता सम्बन्धी १० वर्षे विश्व कार्ययोजनाको कार्यान्वयन र उपलब्धीहरूको समिक्षा गर्दै सोहि वर्षदेखि डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तराष्ट्रिय दिवसको रूपमा घोषणा गरी विश्वभर मनाउन थालियो । हरेक वर्ष यो दिवस एउटा मुल अन्तर्राष्ट्रिय नारा (Theme of the year) का साथ मनाउने गरिन्छ । नेपालमा पनि सन १९९३ देखि विभिन्न कार्यक्रमहरू गर्दै यो दिवस हरेक वर्ष मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघले यस वर्षको लागि दिगो विकासका १७ वटा लक्षहरूमा अपाङ्गताको सवालको समावेशीकरणलाई मुख्य रूपमा जोड दिँदै अन्तर्राष्ट्रिय दिवसको नारा तय गरेको छ । यस वर्षको नारा अंग्रेजीमा “Achieving 17 goals for the future we want” रहेको छ भने यसलाई नेपालीमा “हासिल गरौँ दिगो विकासका १७ लक्ष, सुनिश्चित गरौँ हामीले चाहेको भविश्य” भनि अनुवाद गरिएको छ ।

 

Poster for IDPD 2016

समग्र विश्वको समतामुलक विकासका लागि संयुक्त राष्ट्रसंघले विभिन्न दीर्घकालिन कार्ययोजना र रणनीतिहरू लागू गर्दै आएको छ । यसै क्रममा सहस्राब्दी विकास लक्षकोहरूको कार्यान्वयन पश्चात विश्वको दिगो विकासको लागि सन २०१५ को सेप्टेम्बर २५ मा राष्ट्रसंघले सन २०३० सम्ममा हासिल गर्न १७ वटा दिगो विकासका लक्षहरू तय गरेको छ । दिगो विकासका १७ वटा लक्षहरू मध्ये ५ वटा लक्षहरू यस्ता छन जसमा अपाङ्गतालाई विशेग रूपमा सम्बोधन गरिएको छ भने वाँकी १२ वटा लक्षहरूमा पनि अपाङ्गता भएका व्यक्तिका सवालहरूले निकै महत्व राख्दछन् । विश्वव्यापी विकासका विभिन्न लक्षहरूमा अपाङ्गताका सवालहरूलाई प्रत्यक्षरूपमा सम्बोधन गरिएको यो सम्भवत: पहिलो पटक हो । यसरि हेर्दा दिगो विकासका १७ वटै लक्षहरूले अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न सवालसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध राख्छन् ।

सन २०३० सम्ममा हासिल गरिने दिगो विकासका १७ वटा लक्षहरू देहायबमोजिम रहेका छन्

  • लक्ष १ : संसारभरि सबै प्रकारका गरीविको अन्त्य गर्ने
  • लक्ष २ : भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा हासिल गर्ने, पोषणमा सुधार गर्ने र दिगो कृषीलाई प्रवर्द्धन गर्ने ।
  • लक्ष ३ : स्वस्थ जीवन सुनिश्चित गर्ने र सबै उमेरमा सबैका लागि हितकर जीवन प्रवर्द्धन गर्ने
  • लक्ष ४ : समावेशी र समतामुलक गुणस्तरीय शिक्षा र सबैका लागि जीवनपर्यन्त सिकाईका अवसरहरूलाई सुनिश्चित गर्ने
  • लक्ष ५ : लैङ्गिक समानता हासिल गर्ने र सबै महिला र किशोरीहरूको सशक्तिकरण गर्ने
  • लक्ष ६ : सबैका लागि पिउने पानी तथा सरसफाई र यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने
  • लक्ष ७ : धान्न सक्ने, विश्वासिलो, दिगो र आधुनिक उर्जामा सबैको पहुँच सुनिश्चित गर्ने ।
  • लक्ष ८ : सबैका लागि समावेशी, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने र उत्पादनमुलक रोजगारी र सम्मानपूर्ण कामलाई प्रवर्द्धन गर्ने ।
  • लक्ष ९ : बलियो पूर्वाधार निर्माण गर्ने, समावेशी र दिगो औद्योगिकरणलाई प्रवर्द्धन गर्ने र नविनतम आविश्कारहरूलाई बढावा दिने
  • लक्ष १० : देशभित्र र अन्य देशहरूसँको असामानता न्युनिकरण गर्ने ।
  • लक्ष ११ : सहर र मानव वस्तिहरूलाई समावेशी, सुरक्षित, बलियो र दिगो बनाउने ।
  • लक्ष १२ : दिगो उपभोग तथा उत्पादन ढाँचा सुनिश्चित गर्ने
  • लक्ष १३: जलवायू परिवर्तन र यसको असरसँग जुध्न तत्काल कदम चाल्ने
  • लक्ष १४ : दिगो विकासका लागि सामुन्द्रिक स्रोतहरूको संरक्षण र दिगो रूपमा उपयोग गर्ने
  • लक्ष १५ : स्थलीय पर्यावरण प्रणालीलाई संरक्षण, पुनप्राप्ती र प्रवर्द्धन गर्ने, वनजंगलको दिगो रूपमा व्यवस्थापन गर्ने, मरूभूमिकरणसँग जुध्ने, जमिनको गुणस्तरमा भएको गिरावट रोक्ने, जैविक विविधतामा भैरहेको नोक्सानी रोक्ने ।\
  • लक्ष १६ : दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाज निर्माण गर्ने, सबैलाई न्यायमा पहुँच स्थापित गर्ने र सबै तहमा प्रभावकारी, जवावदेही र समावेशी संस्थाको निर्माण गर्ने ।
  • लक्ष १७ : दिगो विकासको लागि कार्यान्वयनका साधनहरूलाई सवलिकरण गर्दै अन्तर्राष्ट्रिय साझेदारीलाई थप जोड दिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *