महासंघले अपाङ्ता सम्बन्धी तथ्याङ्क प्रणालीको निर्माण गर्ने

राष्ट्रिय अपाङ्ग महासंघले मिति २०७४ माघ २४ गते काठमाडौंमा अपाङ्गता सम्बन्धी खुल्ला तथ्याङ्क प्रणाली तयार गर्ने बारेमा प्रारम्भिक छलफल कार्यक्रमको आयोजना गर्यो । महासंघले निर्माण गर्न लागेको खुला तथ्याङ्क प्रणालीलाई सबैको साझा कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले नेपाल सरकार सहित सबै सरोकारवालाहरुसँग परामर्श गर्नका लागि सो कार्यक्रमको आयोजना गरिएको थियो ।

तस्बिर बिबरण: कार्यक्रमका सहभागीहरू

नेपालमा अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी बहुआयामिक तथ्याङ्कको अभाव रहेको कुरामा कुनै दुईमत छैन। भएका केही तथ्याङ्कहरू (नेपाल सरकार र अपाङ्गताका क्षेत्रमा कार्यरत सङ्घ-संस्थाहरूले बेला बेलामा अपाङ्गताकै विभिन्न विषयमा अध्ययन गरेर प्रकाशित गरेका प्रतिवेदन र तथ्याङ्कहरू) पनि छरपस्ट छन् र चाहिएको समयमा उपलब्ध हुँदैनन्। यसले गर्दा नीति निर्मातालाई अपाङ्गता सम्बन्धी कार्यक्रमहरू गर्न चाहिने यथार्थ तथ्याङ्कको सधैँ नै अभाव हुने गरेको छ ।

यो समस्यालाई केही हद सम्म भए पनि समाधान गर्ने उद्देश्य सहित राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले दि एसिया फाउन्डेसन र डिएफ्आईडी सँगको सहकार्यमा आगामी जुन २०१८ को अन्त्य सम्ममा अपाङ्गताका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका विभिन्न गुणात्मक (Qualitative) र परिणात्मक (Quantitative) तथ्याङ्कहरूलाई एकै स्थानमा प्रकाशित गरी सहजरूपमा सबैलाई उपलब्ध गराउनको लागी एउटा खुला तथ्याङ्क प्रणाली (Open Data Portal) को निर्माण गर्न लक्ष्य राखेको छ।

कार्यक्रमको सुरुवातमा महासंघका उपाअध्यक्ष श्री टिका दाहालले, हरेक विकासका कार्यहरूको मूलमै तथ्याङ्क रहने हुनाले महासँघले गर्न लागेको यो नयाँ अभियानले अपाङ्गताको क्षेत्रमा नयाँ उत्साह ल्याउने कुरा बताउनु भयो।

महासंघका कार्यक्रम तथा प्रशासन व्यवस्थापक श्री मनिष प्रसाईले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा दुई वटा प्रस्तुतिहरु रहेका थिए । पहिलो प्रस्तुतिकरणमा फ्रिडम फोरिमका श्री कृष्ण सापकोटाले खुला तथ्याङ्क, यसका फाईदा र नेपालमा यसको प्रयोगका बारेमा बताउनु भयो । त्यसैगरी दास्रो प्रस्तुति महासंघका कार्यक्रम संयोजक श्री सागर प्रसाईले गर्नुभएको थियो। वहाँले अपाङ्गता क्षेत्रमा खुला तथ्याङ्क प्रणालीको महत्व र सो सम्बन्धी महासंघको योजना बताउनुभयो ।

 

तस्बिर विवरण: आफ्नो प्रस्तुति दिनुहुदै श्री कृष्ण सापकोटा

सो कार्यक्रममा नेपाल सरकारका बिभीन्न निकायका प्रतिनिधीहरू सहित बिभिन्न सरोकारवाला निकायका प्रतिनिधीहरू गरेर ४० जनाको सहभागिता रहेको थियो । सहभागीहरूले यस अभियानलाई सकारात्मक रूपमा लिनुका साथै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्दता पनि जनाएका छन् ।

महासंघका अध्यक्ष श्री सुर्दशन सुवेदीले सबै सहभागीहरूलाई आफ्ना अनुभवहरु राखिदिनुभएको मा धन्यवाद ज्ञापन गर्दै यस प्रणालीको निर्माण तथा व्यवस्थापनमा सबैको जनाको साथ हुनेमा विश्वास व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *