अपाङ्गता  भएका  व्यक्तिको अधिकार सम्बन्धी नियमावली,२०७६

 

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली 

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन,२०७४ को दफा ६० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ ।

परिच्छेद
प्रारम्भिक

. संक्षिप्त नाम प्रारम्भ : (१) यी नियमहरुको नाम “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली,२०७६” रहेको छ ।
(२)     यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

  • “ऐन” भन्नाले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ सम्झनु पर्छ ।
  • “परिचयपत्र” भन्नाले अपाङ्गता भएका व्यक्तिलाई दिइने नियम ५ बमोजिमको अपाङ्गता परिचयपत्र सम्झनु पर्छ ।
  • “विपन्न” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको आयभन्दा कम आय भएका व्यक्ति वा परिवार सम्झनु पर्छ ।
  • “सहायक सामाग्री” भन्नाले अपाङ्गता भएका व्यक्तिले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री वा उपकरण वा प्रविधि सम्झनु पर्छ ।
  • “सामुदायिक सहायता सेवा” भन्नाले समुदाय स्तरमा पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालन, सहभागिता तथा गमनशीलतालाई सहज बनाउन उपलब्ध गराइने व्यक्तिगत सहयोगी सेवा, सांकेतिक भाषा दोभाषे, स्पर्श सांकेतिक भाषा, नोट टेकर, फिङ्गर ब्रेल दोभाषे जस्ता मानवीय सहायता, प्रविधि तथा अन्य सेवा सम्झनु पर्छ ।

परिच्छेद
अपाङ्गताको वर्गीकरण,परिचयपत्र तथा अभिलेख

. अपाङ्गताको वर्गीकरण सिफारिस समिति : (१) ऐनको दफा ३ को उपदफा (२) बमोजिम अपाङ्गताको वर्गीकरणमा आवश्यक हेरफेर गर्नका लागि मन्त्रालयमा सिफारिस गर्न देहाय बमोजिमको सिफारिस समिति रहनेछ ।

क)   मन्त्रालयको सचिवले तोकेको महाशाखा प्रमुख                                   – संयोजक
ख) प्रतिनिधि,स्वास्थ्य सेवा विभाग                                                                   – सदस्य
ग) मन्त्रालयले तोकेको एक जना विशेषज्ञ चिकित्सक                                  – सदस्य
घ) अध्यक्ष,राष्ट्रिय अपाङ्ग महासंघ नेपाल                                                       – सदस्य
ङ) अध्यक्ष, राष्ट्रिय बहिरा महासंघ नेपाल                                                       – सदस्य
च) अध्यक्ष, बौद्धिक अपाङ्ग अभिभावक महासंघ                                         – सदस्य
छ) मन्त्रालयको अपाङ्गता सम्बन्धि विषय हर्ने शाखाको प्रमुख                    – सदस्य-सचिव

(२) उपनियम (१) बमोजिमको समितिले आवश्यकता अनुसार सम्बन्धित विषय विज्ञलाइ बैठकमा आमन्त्रण गर्न सक्नेछ ।

(३) उपनियम (१) बमोजिमको समितिले सम्बध्द अन्तर्राष्ट्रिय मापदण्ड तथा अभ्यास समेतको आधारमा अपाङ्गताको वर्गीकरणमा हेरफेर गर्नको लागि मन्त्रालयमा सिफारिस गर्नेछ ।

(४) उपनियम (१) बमोजिमको समितिले आफ्नो बैठक सम्बन्धी कार्यविधि आफै व्यवस्थित गर्नेछ ।

. निवेदन दिनु पर्ने : (१) ऐनको दफा ४ बमोजिम परिचयपत्र प्राप्त गर्न अपाङ्गता भएका व्यक्ति वा निजको परिवारको कुनै सदस्य वा संरक्षकले अनुसूची-१ बमोजिमको ढाँचामा आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थायी ठेगाना रहेको स्थानीय तहमा बसोबास नगर्ने र शारीरिक वा मानसिक अवस्थाको कारणले आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहमा गई परिचयपत्र प्राप्त गर्न असर्मथ व्यक्तिले अस्थायी रुपमा बसोबास गर्दै आएको स्थानीय तहमा निवेदन दिन सक्नेछ ।

. परिचयपत्र प्रदान गर्ने: (१) नियम ४ को उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपर स्थानीय तहले ऐनको दफा ४ बमोजिम जाँचबुझ गरी अनुसुची – २ बमोजिमको ढाँचामा परिचयपत्र दिनु पर्नेछ ।

(२) नियम ४ उपनियम (२) बमोजिम पर्न आएको निवेदन उपर जाँचबुझ गर्दा निवेदनमा उल्लिखित कारण परी स्थायी ठेगाना भएको स्थानीय तहमा निवेदन दिन नसक्ने मनासिव कारण भएको पाइएमा त्यस्तो स्थानीय तहले निवेदकको स्थायी ठेगाना रहेको स्थानीय तहसँग निजले परिचयपत्र लिए वा नलिएको सम्बन्धमा जानकारी माग गर्नु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम जानकारी माग गर्दा निवेदकले स्थायी ठेगाना रहेको स्थानीय तहबाट परिचयपत्र नलिएको व्यहोरा यकिन हुन आएमा निवेदक अस्थायी रुपमा बमोबास गर्दै आएको स्थानीय तहले निजको स्थायी ठेगाना खुलाई निजलाई परिचयपत्र प्रदान गरी सोको जानकारी निवेदकको स्थायी ठेगाना भएको स्थानीय तहलाई गराउनु पर्नेछ ।

(४) यस नियम बमोजिम स्थानीय तहले परिचयपत्र दिंदा देहाय बमोजिमको अपाङ्गताको आधारमा देहाय बमोजिमको रङ्गको परिचयपत्र दिनु पर्नेछ ।

क) पूर्ण अशक्त अपाङ्गताको लागि रातो
ख) अति अशक्त अपाङ्गताको लागि निलो
ग) मध्यम अपाङ्गताको लागि पहेंलो
घ) सामान्य अपाङ्गताको लागि सेतो

. उजूरी दिन सक्ने : (१)  ऐनको दफा ४ को उपदफा (७) बमोजिम सम्बन्धित स्थानीय तहले परिचयपत्र दिन नमिल्ने भनी गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले अनुसूची–३ बमोजिमको ढाँचामा सोझै वा सम्बन्धित स्थानीय तह मार्फत मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारी समक्ष उजूरी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त भएको उजूरी स्थानीय तहले तीन दिनभित्र मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारी समक्ष पठाउनु पर्नेछ ।

(३) मन्त्रालय वा मन्त्रालयले तोकेको अधिकारीले उपनियम (१) र (२) बमोजिम प्राप्त उजूरी उपर आवश्यक छानविन गरी तीस दिनभित्र निर्णय गरी सोको जानकारी सम्बन्धित स्थानीय तह र उजूरीकर्तालाई दिनु पर्नेछ ।

. अपाङ्गता भएका व्यक्तिको अभिलेख : (१) स्थानीय तहले ऐनको दफा ६ बमोजिम अपाङ्गता भएका व्यक्तिको अभिलेख राख्दा अनुसूची-४ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।

(२)स्थानीय तहले उपनियम (१) बमोजिम तयार गरेको अभिलेख सहितको विवरण मन्त्रालयमा पठाउनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त अभिलेख सहितको विवरणको आधारमा मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको सम्पूर्ण विवरण खुल्ने गरी एकिकृत राष्ट्रिय अभिलेख तयार गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम तयार गरेको राष्ट्रिय अभिलेखको संकलन, संरक्षण, विश्लेषण तथा प्रशोधनको लागि मन्त्रालयले पहुँचयुक्त विधुतीय प्रणालीको विकास गर्न सक्नेछ ।

(५) मन्त्रालयले उपनियम (४) बमोजिमको प्रणालीको विकास गर्दा सम्बन्धित स्थानीय तहले समेत अनलाईन माध्यमबाट अपाङ्गता सम्बन्धी विवरण अध्यावधीक गर्न सक्ने गरी आवश्यक व्यवस्था गर्नु पर्नेछ ।

(६) उपनियम (३) बमोजिम तयार गरेको एकिकृत राष्ट्रिय अभिलेखको विवरण मन्त्रालयले आफ्नो वेबसाइटमा राख्नुका साथै अन्य विधुतीय माध्यमबाट समेत सार्वजनिक गर्न पर्नेछ । तर प्रचलित कानुन बमोजिम गोप्य राख्नु पर्ने व्यक्तिको गोपनियतासँग सम्बन्धित विवरण सार्वजनिक गर्न मन्त्रालय बाध्य हुने छैन ।

(७) नेपाल सरकारको केन्द्रिय निकायले राष्ट्रिय जनगणना गर्दा यस नियमावली बमोजिम राखिएको एकिकृत राष्ट्रिय अभिलेख समेतलाई आधार लिन सक्नेछ ।

परिच्छेद–३
सेवा तथा सुविधा सम्बन्धी

. सहायक सामाग्री उपलब्ध गराउने : (१) नेपाल सरकारले अपाङ्गताको प्रकृति र अवस्था बमोजिम अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने अनुसूची-५ बमोजिमका सहायक सामाग्री उपयुक्त प्राविधिक नापजाँच गरी नि:शुल्क उपलब्ध गराउनेछ ।

(२) उपनियम (१) बमोजिमका सामग्री अपाङ्गता भएका व्यक्तिलाई स्थानीय तहबाट सहज र सरल तरिकाले उपलब्ध गराउन नेपाल सरकारले आवश्यवक व्यवस्था मिलाउनेछ ।

. सामुदायिक सहायता सेवा : पूर्ण अशक्त र अति अशक्त अपाङ्गता व्यक्तिलाई उनीहरुको आवश्यकता अनुसार देहाय बमोजिमका सामुदायिक सहायता सेवा उपलब्धताको आधारमा निःशुल्क उपलब्ध गराइनेछ;

(क) व्यक्तिगत सहयोगी सेवा: पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता   भएका व्यक्तिका लागि आधारभूत आवश्यकता अनुसारका सहयोगी सेवा,
ख) दैनिक हेरचाह तथा स्याहार सेवा: पूर्ण अशक्त अपाङ्गता, श्रवण दृष्टिविहिन अपाङ्गता, बौद्धिक अपाङ्गता, अटिजम वा मनोसामाजिक अपाङ्गता भएका दैनिक रुपमा निरन्तर हेरचाह तथा सहयोग आवश्यक पर्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिका लागि परिवारको कुनै सदस्य वा संरक्षक नभएको अवस्थामा सम्बन्धित स्थानीय तह मार्फत उपलब्ध हुने हेरचाह तथा स्याहारको सेवा र स्थानीय तहमा पुनर्स्थापना कार्यक्रम मार्फत उपलब्ध हुने आवश्यक आधारभूत थेरापी, पुनर्स्थापना, दैनिक जीवनयापन सीप, सामाजिकीकरण सीप लगायतका सेवा,
) क्लिनिकल परामर्श तथा रेफरल सेवा: स्थानीय स्वास्थ्य संस्था मार्फत अपाङ्गता भएका व्यक्तिको लागि उपलब्ध हुने आवश्यक क्लिनिकल परामर्श सेवा तथा स्वास्थ्य उपचारसँग सम्बन्धित रेफर सेवा,
) सामान्य परामर्श तथा दौतरी परामर्श सेवाः नेपाल सरकार वा स्थानीय तह मार्फत स्थानीय स्तरमा संचालित पुनर्स्थापना केन्द्र वा विभिन्न व्यक्ति वा अपाङ्गता सम्बन्धी गैरसरकारी संस्थाबाट संचालित पुनर्स्थापना केन्द्रहरु मार्फत उपलब्ध गराइने सामान्य परार्मश सेवा, दौतरी परामर्श सेवा, अभिभावक परामर्श जस्ता सेवा ।

२) उपनियम (१) बमोजिमको सेवा प्रदान गर्नका लागि आवश्यक बजेट नेपाल सरकारले सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने छ ।

१०. ब्यक्तिगत सहयोगी सेवा सिफारिस समिति :-  अपाङ्गता भएका व्यक्तिको लागि नियम ९ को उपनियम (१) को खण्ड (क) बमोजिमको व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउन स्थानीय तहको प्रत्येक वडामा देहाय बमोजिमको व्यक्तिगत सहयोगी सेवा सिफारिस समिति रहेनेछः  

क) स्थानीय तहको सम्बन्धित वडाको वडाध्यक्ष                                                                                        – संयोजक
ख) अपाङ्गता भएका ब्यक्तिद्वारा संचालित संस्थाका प्रतिनिधि वा अपाङ्गता भएका व्यक्ति वा निजका परिवारका सदस्य वा संरक्षक मध्येबाट संयोजकले तोकेको एक जना                                                                                       – सदस्य
ग) संयोजकले तोकेको स्थानीय स्वास्थ्य संस्थाको एक जना प्रतिनिधि                                                       – सदस्य
घ) सम्बन्धित वडाको वडा सचिव                                                                                                          – सदस्य सचिव

 

 ११. आर्थिक सहयोग तथा तालिम सम्बन्धीः (१) नेपाल सरकारले ऐनको दफा १६ को उपदफा (१) बमोजिम पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्ति भएको लागि प्रचलित कानूनमा उल्लेखित सामाजिक सुरक्षाको अतिरिक्त नेपाल सरकारले समय समयमा तोके बमोजिमको रकम आर्थिक सहयोग वा सामाजिक सुरक्षा बापत उपलब्ध गराउने छ ।

(२) संघ, प्रदेश र स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिको दैनिक हेरचाहमा संलग्न परिवारका सदस्य वा संरक्षकलाई हेरचाह सम्बन्धी तालिम र बहिरा व्यक्तिका परिवारका सदस्यलाई सांकेतिक भाषा तालिम निःशुल्क उपलब्ध गराइने छ

(३) उपनियम (१) र (२) बमोजिमको आर्थिक सहयोग वा सामाजिक सुरक्षा तथा तालिम सम्बन्धित स्थानीय तहले अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्नेछ ।

१२) सुहलियत सुविधाः (१) सार्वजनिक यातायातले पूर्ण अशक्त, अति अशक्त र मध्यम अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा बस, रेल, हवाइजहाज जस्ता सार्वजनिक साधनबाट यात्रा गर्दा लाग्ने भाडामा पचास प्रतिशत छुट उपलब्ध  गराउनु पर्नेछ ।

(२) देहाय बमोजिमका सीट क्षमता भएका सार्वजनिक सवारी साधनले देहायबमोजिमका सीट अपाङ्गता भएका व्यक्तिका लागि सुरक्षित राख्नु पर्नेछः
क) दश वा सोभन्दा कम सीट क्षमता भएका सवारी साधनले एक सीट
ख) एघार देखि पन्ध्र सीट क्षमता भएका सवारी साधनले दुइ सीट
ग) सोह्र देखि तीस सीट क्षमता भएका सवारी साधनले तीन सीट
घ) तीस भन्दा बढी सीट क्षमता भएका सवारी साधनले चार सीट
ङ) रेल लगायतका ठूला सवारी साधनले कूल सीट संख्याको कम्तीमा पाँच प्रतिशत सीट

१३) अपाङ्गता भएका व्यक्तिका छोराछोरीका लागि छात्रवृत्तिको व्यवस्थाः (१) नेपाल सरकारले पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका असहाय विपन्न वर्गका नागरिकका छोराछोरीलाई स्वदेशमा स्नातक तहसम्मको शिक्षा हासिल गर्न छात्रवृत्ति उपलब्ध गराउनेछ ।

(२)  उपनियम (१) बमोजिमको छात्रवृत्ति प्राप्त गर्न चाहने पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका असहाय विपन्न वर्गका नागरिकका छोराछोरीले सम्बन्धित शैक्षिक संस्थामा भर्ना गरेको प्रमाण, सम्बन्धित स्थानीय तहको सिफारिस, परिचयपत्रको प्रतिलिपि तथा नाता प्रमाणित र विपन्नताको सिफारिस लगायतको कागजात पेश गर्नु पर्ने छ ।

परिच्छेद–४
अपाङ्गता भएका महिला तथा बालबालिकाको विशेष संरक्षण

१४. अपाङ्गता भएका महिलाको लागि विशेष कार्यक्रम संचालनः (१) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले अपाङ्गता भएका महिलाको अधिकार संरक्षण गर्न तथा उनीहरुको ज्ञान, सीप तथा क्षमताको उच्चतम उपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्न देहायवमोजिमको व्यवस्था गर्नु पर्नेछ;

क) अपाङ्गता भएका महिलामा रहेको ज्ञान, सीप र क्षमताको पहिचानको लागि अध्ययन, अनुसन्धान गर्ने, गराउने,
ख) खण्ड (क) बमोजिम भएको अध्ययन अनुसन्धानको आधारमा अपाङ्गता  भएका महिलाको ज्ञान, सीप र क्षमताका आधारमा उपयुक्त पेशा वा व्यवसायको लागि रोजगारमूलक तालिम तथा अभिमुखीकरण कार्यक्रम संचालन गर्ने, गराउने
ग) अपाङ्गता भएका महिलाले निर्माण वा उत्पादन गरेका सामान तथा वस्तुको बिक्रि तथा बजारिकरणको लागि आवश्यक व्यवस्था मिलाउने,
घ) अपाङ्गता भएका महिलाको लागि उपयुक्त ठानिएका आय आर्जनका अन्य कार्यक्रम संचालन गर्ने, गराउने

(२) उपनियम (१) बमोजिमको व्यवस्था गरेको लागि नेपाल सरकारले प्रदेश सरकार तथा स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।     

१५. अपाङ्गता  भएका  बालबालिकाको  विशेष संरक्षण:  ऐनको दफा २० बमोजिम पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका बालबालिकाको लागि नेपाल सरकारले प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी देहाय बमोजिमका विषेश संरक्षणको व्यवस्था गर्नु पर्नेछ;

क) निजहरुको हेरचाह तथा स्याहारको लागि परिवारका सदस्य वा संरक्षकलाई आवश्यक तालिम तथा आय आर्जन सम्बन्धी व्यवसाय गर्न सहयोग गर्ने,
ख) निजहरुको रोगको शिघ्र पहिचान, उपचार, औषधी र परामर्श सेवा स्थानीय स्वास्थ्य केन्द्रबाट उपलब्ध हुने गरी आवश्यक व्यवस्था मिलाउने,
ग) स्थानीय तहमा अपाङ्गता भएका बालबालिकाको खेलकूद र मनोरञ्जनको लागि विशेष व्यवस्था गर्ने गरी आवश्यक व्यवस्था मिलाउने,
घ) स्थानीय स्वास्थ्य केन्द्र र अस्पतालमा प्रारम्भिक अपाङ्गता पहिचान, परामर्श तथा आधारभूत स्वास्थ्य सम्बन्धी पुनर्स्थापनाको लागि आवश्यक क्षमता विकास र मानव स्रोतको व्यवस्थापन गर्ने,
ङ) अपाङ्गता भएका बालबालिकाको आँखा, नाक, कान, घाँटी, अडियोग्राम जाँच लगायतको सेवा स्थानीय स्वास्थ्य संस्थाबाट प्राप्त गर्ने,
च) बालबालिकाको उमेर अनुसार बौद्धिक र शारीरिक विकास नभएमा वा उमेर अनुसारका लक्षणहरु नदेखिएमा परिवारका सदस्य वा सामाजिक कार्यकर्ताहरुले यस्तो सूचना वडा कार्यालयमा दिन सक्ने गरी आवश्यक व्यवस्था गर्ने,
छ) स्थानीय तह मार्फत अपाङ्गता पहिचान भएका बालबालिकाको लागि आवधिक रुपमा अपाङ्गताको अवस्थाको मूल्याङ्कन, सेवा सुविधा पुनरावलोकन तथा आवश्यक थेरापी लगायत अन्य सेवाहरुको व्यवस्था गर्ने ।

परिच्छेद ५

अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराइने शिक्षा

१६. निःशुल्क शिक्षा उपलब्ध गराउनेः

पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई देहाय बमोजिमका व्यवसायिक तथा प्राविधिक शिक्षा निःशुल्क उपलब्ध गराइनेछ;

  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदबाट प्रदान गरिने शिक्षा,
  • नेपाल सरकारले समय समयमा तोकेका अन्य व्यवसायिक तथा प्राविधिक शिक्षा ।

१७. आवसीय सुविधा सहितको शिक्षा उपलब्ध गराउनेः (१) नेपाल सरकारले पूर्ण अशक्त र अति अशक्त अपाङ्गताको कारणले आफै विद्यालय जान आउन कठिन हुने र विपन्न तथा असहाय अपाङ्गता भएका बालबालिकाको लागि पहुँचयुक्त आवास सुविधा सहितको शिक्षाको व्यवस्था गर्नेछ ।

(२) नेपाल सरकारले बहिरा, दृष्टिविहिन, बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि पहुँचयुक्त आवास सहितको समावेशी शिक्षा र विशेष कक्षाको व्यवस्था गर्नेछ ।

१८. शिक्षामा सूचना प्रविधिको प्रयोगः (१) नेपाल सरकारले सूचना प्रविधिका माध्यम, प्रणाली वा तरिकाको अवलम्बन गरी दृष्टिविहिन, बहिरा, सुस्तश्रवण, श्रवण दृष्टिविहिन भएका अपाङ्गता भएका व्यक्तिलाई शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने छ ।

(२) उपनियम (१) बमोजिम अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा पहुँच सहज बनाउन नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी आवश्यक विशेष सफ्टवेयर सहितको कम्प्युटर वा उपकरण उपलब्ध गराउने वा अडियो, ब्रेल, सरल भाषा तथा चित्रात्मक, ठूलो छापा, भिडियो, सांकेतिक भाषा लगायतका ढाँचामा शैक्षिक सामग्री उपलब्ध गराउनेछ ।

१९. छात्रवृत्ति तथा आर्थिक सहयोग उपलब्ध गराउनेः निः शुल्क नगरिएको शिक्षामा भर्ना भइ अध्ययन गर्ने अपाङ्गता भएका विद्यार्थीको लागि प्रत्येक वर्ष निर्धारण गरे बमोजिमका संख्याका विद्यार्थीलाई शैक्षिक शुल्क, आवास स्टेशनरी तथा अन्य खर्चको लागि नेपाल सरकारले निर्धारण गरे बमोजिमको रकम शैक्षिक छात्रवृत्ति बापत उपलब्ध गराउनेछ ।

२०. विद्यालयलाई सहयोग उपलब्ध गराउनेः (१) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीका लागि विशेष शिक्षा कार्यक्रम सञ्चालन गरेका सामुदायिक विद्यालयको पुर्वाधारलाई निजहरुको पहुँचयुक्त बनाउनका लागि त्यस्तो विद्यालयको आवश्यकता तथा सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा पहुँचयुक्त छात्रवासको सुविधा सहितको आर्थिक, प्रावधिक सहयोग तथा आवश्यक सामग्री उपलब्ध गराउनेछ ।

(२) नेपाल सरकारले उपनियम (१) बमोजिमको विद्यालयको भौतिक पूर्वाधार तथा अन्य सेवा सुविधाको विकासको लागि सम्बन्धित स्थानीय तहले तीस प्रतिशत लगानी गर्ने प्रतिबध्दता गरेमा बाँकी लगानीको लागि कार्यक्रमको आधारमा सम्बन्धित विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

 

२१. विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच अभिवृद्धि गर्ने: (१) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन तथा प्रवर्द्धनको लागि त्यस्ता विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन तथा प्रवर्धनको लागि आवश्यकता  र उपलब्धता अनुसार स्टेशनरी, पाठ्यपुस्तक, दिवा खाजा, पोशाक, सहयोगी शिक्षक र सम्बन्धित अपाङ्गता विज्ञ शिक्षक उपलब्ध  गराउनेछ  ।

(२) अपाङ्गता भएका विद्यार्थीलाई अध्यापन गराउने शिक्षकका लागि नेपाल सरकारले     सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अपाङ्गताको पहिचान, सिफारिस, सामान्य थेरापी, व्यक्तिगत पाठ्ययोजना, व्यक्तिगत हेरचाह, क्षमता विकास, सांकेतिक भाषा लगायतका तालिम कार्यक्रम संचालन गर्नेछ ।

(३) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीको विद्यालय तथा सिकाइमा पहुँच सुनिश्चित गर्न त्यस्ता शिक्षा प्रदान गर्ने विद्यालयलाई देहाय बमोजिमका शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउनेछ:

(क)    अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सहजता हुने आवश्यकतामा आधारित पाठ्यपुस्तक तथा पाठ्यसामग्री,

(ख)    सूचना प्रविधिको माध्यमबाट अध्ययन अध्यापनको लागि आवश्यक पर्ने डेजि, ब्रेल डिस्प्लेअर, ब्रेल प्रिन्टर, कम्युटर सफ्टवेयर, मोवाईल एप्लिकेशन, सरल भाषामा बुझाउने शैक्षिक सामग्री, चित्रात्मक सामाग्री, श्रव्य दृष्य सामग्री लगायतका सूचना प्रविधि
(ग) पहुँचयुक्त फर्निचर तथा अन्य भौतिक सामग्री,
(घ)     अपाङ्गता भएका विद्यार्थीको लागि आवश्यक पर्ने खेलकूदका सामग्री ।

 

परिच्छेद–६

सीप विकास तथा रोजगारी

२२. ऋण उपलब्ध गराउने: (१) नेपाल सरकारले पेशा वा व्यवसाय गर्न चाहने पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिमा रहेको सीप, क्षमता तथा पेशा व्यवसायका लागि निज वा निजको परिवारको सदस्य वा संरक्षकले तयार गरेको प्रस्तावको आधारमा बैक तथा वित्तिय संस्थाबाट नेपाल सरकारको जमानतमा वा बिना धितो सुहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नेछ ।

२३. अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नुपर्नेः कुनै प्रतिष्ठानमा अपाङ्गता भएका व्यक्तिको क्षमता, तालिम, योग्यता र अनुभवका आधारमा उपयुक्त हुने काम उपलब्ध भएसम्म  देहाय बमोजिमका प्राथमिकताका आधारमा अपाङ्गता भएका व्यक्तिलाई नियुक्ति गर्नु पर्नेछ :

(क) अपाङ्गता र कामको प्रकृतिको आधारमा बढी उपयुक्त देखिएको,
(ख) अपाङ्गता भएको व्यक्ति विपन्न परिवारको भएको,
(ग) प्रचलित कानून बमोजिम पिछडिएको क्षेत्रमा स्थायी बसोबास गरेको,
(घ) अपाङ्गताको गाम्भीर्यताको आधारमा नेपाल सरकारले तोकेको ।

२४. अभिलेख राख्नु पर्नेः प्रतिष्ठानले आफ्नो प्रतिष्ठानमा कार्यरत अपाङ्गता भएका व्यक्तिका ऐनको दफा २६ को उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त देहाय बमोजिमको विवरण समेत खुलाई अभिलेख राख्नु पर्नेछ :

(क)     अपाङ्गता भएका व्यक्तिको नाम, थर र ठेगाना, पद
(ख)     सेवाको प्रकार (स्थायी/ अस्थायी/ करार/ ज्यालादारी),
(ग)     अपाङ्गताको वर्गीकरणको आधारमा प्रदान गरिएको परिचयपत्रको किसिम,
(घ)     प्रतिष्ठानमा भर्ना भएको मिति,
(ङ)     प्रतिष्ठानमा दिइएको जिम्मेवारी,
(च)     प्रतिष्ठानबाट निजलाई उपलब्ध गराइएको सेवा सुविधा
(छ)     प्रतिष्ठानले आवश्यक देखेको अन्य विवरण ।

परिच्छेद
स्वास्थ्य, पुनर्स्थापना, सामाजिक सुरक्षा तथा मनोरञ्जन

२५. निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेः (१) नेपाल सरकारले समय समयमा तोकेको भन्दा कम बार्षिक आय भएका र देहायबमोजिमका गम्भीर प्रकृतिका रोगको उपचारको लागि अस्पतालमा भर्ना भएका पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराउदा लाग्ने सम्पर्ण खर्च नेपाल सरकारले व्यवहोर्ने छ:

क) मुटु रोग,
) मृगौला रोग,
ग) क्यान्सर,
घ) नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य रोग ।

(२) नेपाल सरकारले स्वीकृति प्राप्त चिकित्सकको सिफारिसमा अनुवंशीय रक्तश्राव (हेमोफिलिया) अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने फ्याक्टर लगायतका औषधि निःशुल्क रुपमा सम्बन्धित स्थानीय तह मार्फत उपलब्ध गराइनेछ ।

(३) नेपाल सरकारले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि सबै सरकारी अस्पतालमा निःशुल्क मनोसामाजिक परार्मश सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनेछ ।

(४) उपनियम (१) र (२) बमोजिमका रोगको उपचार सेवा तथा औषधी उपलब्ध गराउन नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहसँग आवश्यक समन्वय गरी प्रदेशस्तरका सरकारी अस्पताल तथा स्थानीय स्वास्थ्यहरुको क्षमता विस्तार गर्नेछ ।  

२६. पुनर्स्थापना केन्द्रको स्थापना तथा सञ्चालन : (१) ऐनको दफा २९ को उपदफा (३) बमोजिम पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न चाहने संस्थाले स्वीकृतिको लागि देहायका विवरण खोलाइ सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनुसूची-६ बमोजिमको ढाँचामा सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्नेछः

(क) संस्थाको विधान र दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) पुनर्स्थापना केन्द्र स्थापना हुने स्थान र त्यस्तो केन्द्रको क्षमता लगायतका भौतिक पूर्वाधारको विवरण,
(ग) पुनर्स्थापना केन्द्रले उपलब्ध गराउने सेवा, सुविधा र प्राविधिक क्षमताको विवरण
(घ) पुनर्स्थापना केन्द्रको लागि आवश्यक जनशक्तिको विवरण
(ङ)   पुनर्स्थापना केन्द्र संचालनको लागि आवश्यक आर्थिक श्रोतको विवरण ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा नियम २७  बमोजिमको मापदण्ड पुरा भएको देखिएमा स्थानीय तहले त्यस्तो संस्थालाई पुनर्स्थापना केन्द्र स्थापना तथा संचालन गर्न अनुसूचि-७ बमोजिमको ढाँचमा स्वीकृति दिनेछ ।

(३) यो नियमावली प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम स्थापना भइ सञ्चालनमा रहेका पुनर्स्थापना केन्द्रले यो नियमावली प्रारम्भ भएको मितिले एक वर्षभित्र यस नियम बमोजिम स्वीकृति लिनु पर्नेछ ।

२७. पुनर्स्थापना केन्द्रको स्थापना, व्यवस्थापन तथा संचालन सम्बन्धी मापदण्ड: ऐन तथा यस नियमावली बमोजिम पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न देहाय बोजिमको मापदण्ड पूरा गरेको हुनु पर्नेछः–

(क)  अपाङ्गता भएका व्यक्तिलाई पुनर्स्थापनाको लागि न्यूनतम आधारभूत सुविधा सहितको भौतिक संरचना भएको,

(ख)   अपाङ्गता भएका व्यक्तिलाई आवश्यक आधारभूत स्वास्थ्य सेवा तथा औषधोपचारको सेवा तथा औषधी उपचारको सेवा उपलब्ध गराउन सक्ने क्षमता भएको,

(ग)   अपाङ्गता भएका व्यक्तिलाई खेल तथा मनोरन्जनको लागि आवश्यक खुला स्थान भएको,

(घ)   अपाङ्गता भएका व्यक्तिलाई आवश्यकता अनुसार शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्न वा सोको प्रवन्ध गर्न सक्ने क्षमता भएको,

(ङ)   न्युनतम १० जना अपाङ्गता भएका ब्यक्ति बरावर तीन जना तालिम प्राप्त सहयोगीको प्रवन्ध भएको,

(च) मन्त्रालयले समय समयमा तोकेका पूर्वाधार तथा अन्य सुविधा सम्बन्धी मापदण्ड पूरा भएको ।

२८. पुनर्स्थापना केन्द्रको व्यवस्थापन :

(१) नियम २६ बमोजिम स्वीकृती लिइ स्थापना तथा संचालन हुने प्रत्येक पुनर्स्थापना केन्द्रको व्यवस्थापनको लागि देहायबमोजिमको व्यवस्थापन समिति रहनेछ ।

(क)  सम्बन्धित स्थानीय तहको प्रमुख                                                    -अध्यक्ष
(ख)  सम्बन्धित स्थानीय तहको सामाजिक विकास हेर्ने कर्मचारी                    -सदस्य
(ग)  अपाङ्गता भएका ब्यक्ति, परिवारका सदस्य वा संरक्षकहरुमध्ये बाट अध्यक्षले तोकेको एक जना -सदस्य
(घ)  अपाङ्गता भएका स्थानीय समाजसेवीहरु मध्येबाट
अध्यक्षले तोकेको एक जना महिला सहित दुइजना                                       –सदस्य
(ङ) पुनर्स्थापना केन्द्रको प्रमुख                                                      –सदस्य सचिव

(२) उपनियम (१) बमोजिमको समितिले ऐन, यस नियमावली तथा प्रचलित कानुनको अधिनमा रही पुनर्स्थापना केन्द्रको संचालन सम्बन्धी कार्यविधि तयार गरी सोको आधारमा पुनर्स्थापना केन्द्र संचालन गर्नुपर्ने छ ।

(३) उपनियम (२) बमोजिमको समितिले पुनर्स्थापना केन्द्रमा रहेका प्रत्येक अपाङ्गता भएका व्यक्तिको छुट्टाछुट्टै व्यक्तिगत विवरणको अभिलेख राख्नु पर्नेछ ।

२९. पुनर्स्थापना केन्द्रको निरीक्षण तथा अनुगमनः (१) ऐनको दफा ४२ बमोजिमको समन्वय समितिले ऐन तथा यस नियमावली बमोजिम पुनर्स्थापना केन्द्र सञ्चालन भए नभएको सम्बन्धमा समय समयमा निरीक्षण तथा अनुगमन गर्नेछ ।

(२) उपनियम (१) बमोजिम निरीक्षण तथा अनुगमन गर्न खटिएका पदाधिकारी वा कर्मचारीले निरीक्षण तथा अनुगमन गरी समन्वय समितिमा सात दिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।

(३) उपनियम (२) बमोजिम पेश भएको प्रतिवेदन समन्वय समितिले आफु समक्ष पेश भएको मितिले सात दिन भित्र मन्त्रालयमा पठाउनु पर्नेछ ।

(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालय वा प्रदेश सरकारले आवश्यकता अनुसार यस नियमावली बमोजिम सञ्चालनमा रहेका पुनर्स्थापना केन्द्रको निरीक्षण तथा अनुगमन गर्न सक्नेछन् ।

(५) उपनियम (१) र (४) बमोजिम निरीक्षण तथा अनुगमन गर्दा त्यस्ता पुनर्स्थापना केन्द्रले ऐन तथा यस नियमावली बमोजिम तोकिएको मापदण्ड पूरा नगरेको वा मन्त्रालयबाट जारी भएको निर्देशिका विपरीत काम कारबाही गरेको पाइएमा निश्चित समयावधिभित्र तोकिएको मापदण्ड पूरा गर्न वा स्वीकृत निर्देशिका बमोजिम पुनर्स्थापना केन्द्र सञ्चालन गर्न आवश्यक निर्देशन दिन सकिनेछ ।

(६) पुनर्स्थापना केन्द्रले उपनियम (५) बमोजिम प्राप्त निर्देशन बमोजिमको समयावधीभित्र कार्य सम्पन्न गरी सोको जानकारी निर्देशन दिने निकायलाई दिनु पर्नेछ ।

(७) यस नियम बमोजिम निरीक्षण तथा अनुगमन गर्दा पुनर्स्थापना केन्द्र ऐन तथा यस नियमावली विपरित स्थापना र सञ्चालन भएको वा नियम २७ बमोजिमको मापदण्द पूरा नगरेको वा उपनियम (५) बमोजिम दिएको निर्देशनको पालना नगरेको देखिएमा स्थानीय तहले त्यस्तो पुनर्स्थापना केन्द्रको सञ्चालनमा रोक लगाउन वा त्यस्तो केन्द्रको स्वीकृति निश्चित अवधिका लागि निलम्बन वा रद्द गर्न सक्नेछ ।

(८) उपनियम (७) बमोजिम पुनर्स्थापना केन्द्रको स्वीकृति निलम्बन वा रद्द गर्नु अघि त्यस्तो पुनर्स्थापना केन्द्रलाई सफाई पेश गर्ने मनासिव मौका दिनु पर्नेछ ।

३०. अनुदान उपलब्ध गराउन सक्ने : (१)पुनर्स्थापना केन्द्रको भौतिक पूर्वधार, सेवा सुविधा र पुनर्स्थापना भएका व्यक्तिको संख्याको आधारमा ऐन तथा यस नियमावली बमोजिम स्वीकृति प्राप्त पुनर्स्थापना केन्द्रलाई नेपाल सरकारले समय समयमा तोके बमोजिमको रकम अनुदान बापत उपलब्ध गराउन सक्नेछ ।

(२) सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहबाट स्वीकृति प्राप्त पुनर्स्थापना केन्द्रलाई सम्बन्धित प्रदेश सरकार वा स्थानीय तहले समय समयमा तोके बमोजिमको रकम अनुदान बापत उपलब्ध गराउन सक्नेछ ।

३१.पुनर्स्थापना केन्द्र बन्द गर्ने: (१) ऐन तथा यस नियमावली बमोजिम स्वीकृती लिइ सञ्चालनमा रहेको पुनर्स्थापना केन्द्र सञ्चालन गर्न सम्भव नभएमा त्यस्तो केन्द्रको प्रमुखले बन्द गर्नुपर्ने कारण सहित पुनर्स्थापना केन्द्रमा अपाङ्गता भएका व्यक्तिको विवरण समेत संलग्न गरी सम्बन्धित स्थानीय तह समक्ष निवेदन दिनुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त हुन आएको निवेदन उपर जाँचबुझ गर्दा त्यस्तो पुनर्स्थापना केन्द्र बन्द गर्नुपर्ने मनासिव आधार र कारण रही बन्द गर्न उपयुक्त देखिएमा सम्बन्धित स्थानीय तहले त्यस्तो पुनर्स्थापना केन्द्रमा रहेका व्यक्तिको लागि अन्य वैकल्पिक व्यवस्था गरी बन्द गर्न स्वीकृती दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम पुनर्स्थापना केन्द्र बन्द गर्न स्वीकृती प्राप्त भएमा त्यस्तो पुनर्स्थापना केन्द्रले सो केन्द्रमा रहेका व्यक्तिको वैकल्पिक व्यवस्था गरिसकेपछि मात्र बन्द गर्ने अन्य प्रकृया पुरा गर्नु पर्नेछ ।

(४) पुनर्स्थापना केन्द्रले उपनियम (३) बमोजिम पुनर्स्थापना केन्द्र बन्द गरेको जानकारी तीन दिन भित्र सम्बन्धित स्थानीय तहलाई दिनु पर्नेछ ।

(५) सम्बन्धित स्थानीय तहले उपनियम (४) बमोजिम प्राप्त हुन आएको जानकारी सात दिन भित्र सम्बन्धित प्रदेश सरकार र मन्त्रालयमा दिनुपर्नेछ ।

(६) सम्बन्धित स्थानीय तहले उपनियम (१) बमोजिम प्राप्त हुन आएको निवेदन उपर जाँचबुझ गर्दा बन्द गर्न माग गरेको पुनर्स्थापना केन्द्र आफैले वा आफ्नो समेतको संलग्नता र लगानीमा त्यस्तो केन्द्र सञ्चालन गर्ने वा कुनै प्रतिष्ठान वा अपाङ्गता क्षेत्रमा क्रियाशिल अन्य संघ, संस्थालाई संचालन गर्न हस्तान्तरण गर्ने व्यवस्था मिलाउन सकिन्छ ।

सञ्चालनमा रहेको पुनर्स्थापना केन्द्र बन्द गर्नु परेमा कारण सहितको व्यहोरा खुलाई पुनर्स्थापना केन्द्रले कम्तिमा ६ महिना अगाडी स्थानीय तहको सिफारिस सहित कार्यालय समक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन दिदा उक्त पुनर्स्थापना केन्द्रमा भएका व्यक्तिको विवरण समेत संलग्न गर्नु पर्नेछ ।

 

३२. आचार संहिता:  पुनर्स्थापना  केन्द्रले केन्द्रका पदाधिकारी तथा कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता केन्द्रको व्यवस्थापन समितिबाट स्वीकृत गराइ लागु गर्नु पर्नेछ ।

३३. पुनर्स्थापना कोषको सञ्चालनः

  • ऐनको दफा ३० बमोजिमको पुनर्स्थापना केन्द्र कोषको रकम मन्त्रालयले तोकेको बैक तथा वित्तिय संस्था सम्बन्धी प्रचलित कानुन बमोजिम स्थापित “क” वर्गको कुनै वाणिज्य बैङ्कमा खाता खोलि जम्मा गर्नु पर्नेछ ।
  • पुनर्स्थापना कोषको खाता मन्त्रालयको सचिव वा निजले तोकेको अधिकृत मन्त्रालयको आर्थिक प्रशासन शाखाको प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।
  • पुनर्स्थापना कोषको रकम ऐन तथा यस नियमावली बमोजिम पुनर्स्थापना केन्द्रको सञ्चालनको लागि मात्र खर्च गर्नुपर्नेछ ।

३४.सामाजिक सुरक्षाः (१) नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई समाजमा स्वतन्त्र र स्वावलम्बन पूर्वक जीवनयापन गर्न सक्ने गरी सक्षम बनाउन अपाङ्गता भएका व्यक्तिको योगदान रहने गरी स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्नेछ ।

(२) उपनियम (१) बमोजिमको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिम मासिक जिवनयापन भत्ता रकम उपलब्ध गराइने छ ।

(३) उपनियम (२) मा जेसुकै लेखिएको भएता पनि विपन्न परिवारका पूर्ण र अति अशक्त अपाङ्गता भएका बेरोजगार व्यक्तिलाई नेपाल सरकारले तोके बमोजिमको बेरोजगार भत्ता समेत उपलब्ध गराइने छ ।

(४) नेपाल सरकारले पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिको एकजना सहयोगीलाई त्यस्तो अपाङ्गता भएका व्यक्तिले उपनियम (२) बमोजिम पाउने भत्ता रकमको आधा रकम बराबरको रकम मासिक रुपमा सहयोगी भत्ता बापत उपलब्ध गराउने छ ।

(५) उपनियम (२) र (३) बमोजिमको भत्ता रकम तोक्दा अन्य प्रचलित कानुन बमोजिम अपाङ्गता भएका व्यक्तिलाई सोही प्रयोजनका लागि उपलब्ध हुने भत्ता वा सुविधामा दोहोरो नपर्ने गरी तोक्न सकिनेछ ।

(६) पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिले आफ्नो निजी शौचालय अपाङ्गतामैत्री बनाउन चाहेमा नेपाल सरकारले तोके बमोजिमको रकम अनुदान बापत उपलबन्ध गराउने छ ।

३५. सांस्कृतिक अधिकार तथा मनोरञ्जन: अपाङ्गता भएका व्यक्तिको सांस्कृतिक अधिकारको सम्मान गर्न ऐनको दफा ३३ बमोजिमको व्यवस्थाको अतिरिक्त नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले देहायको व्यवस्था गर्नेछः–

(क) अपाङ्गता भएका व्यक्तिको सहभागितामा सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने,

(ख) अपाङ्गता भएका व्यक्तिको मनोरन्जनको लागि स्थानीय स्तरमा आवश्यक कार्यक्रम सञ्चालन गर्ने,

ग)  सामुदायिक भवन, पार्क, मठ मन्दिर, बगैँचा लगायतका साँस्कृतिक र मनोरञ्जनका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त बनाउने ।

३६. खेलकुदमा सहभागी गराउनेः (१) ऐनको दफा ३४ मा उल्लेखित कार्यक्रमको अतिरिक्त अपाङ्गता भएका व्यक्तिहरूको लागि खेलकूदको विकास गर्न अधिकार पाएका संस्था वा निकायले विशेष तथा पारा खेलकुदका क्षेत्रमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा संघ, संस्थाको सहभागितामा देहायबमोजिमका कार्यक्रम सञ्चालन गरिनेछ ।

(क) खेलकुदका लागि आवश्यक भौतिक पूर्वधार विकास कार्यक्रम

(ख) खेलकुद लागि क्षमता विकासका कार्यक्रम

(ग) खेलकुद प्रतियोगिता सञ्चालन ।

(२) उपनियम (१) बमोजिम खेलकुद कार्यक्रम सञ्चालन गर्दा दोभाषे र स्वास्थ्य उपचार जस्ता अपाङ्गताको प्रकृति अनुसार पर्ने अन्य सेवा समेत उपलब्ध गराउनु पर्नेछ ।

परिच्छेद–८
विविध

३७. उपायको अवलम्बन गर्नेः  नेपाल सरकारले ऐनको दफा ४५ को उपदफा (४) बमोजिम अपाङ्गता भएका व्यक्तिले बिना भेदभाव अन्य व्यक्ति सरह समान रुपमा मर्यादित र प्रतिष्ठापूर्वक जीवनयापन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि देहायका उपायको अवलम्बन गर्नेछ :-

  • अपाङ्गता भएका व्यक्तिका अधिकार र सेवा सुविधा सम्बन्धी सम्बन्धी कानुनी व्यवस्थाको विषयमा जनचेतना तथा कानुनी शिक्षा कार्यक्रम सञ्चालन गर्ने गराउने
  • अपाङ्गता भएका व्यक्तिको हेरचाह, सशक्तिकरण तथा क्षमता विकासको लागि आवश्यक तालिम सञ्चालन गर्न गराउने
  • सरकारी वा सार्वजनिक सेवा प्रदान गर्ने निकाय तथा संस्थाको भौतिक संचरनाको निर्माणलाई अपाङ्गतामैत्री र पहुँचयुक्त बनाउन त्यस्ता निकाय तथा संस्थालाई निर्देशिन दिने र सोको कार्यान्वयनको अनुगमन गर्ने, गराउने
  • स्थानीय तहमा हुने विपत्त व्यवस्थापन सम्बन्धी गतिविधिमा अपाङ्गता भएका व्यक्तिलाई सहभागी गराउने र यसका लागि पुर्व तयारी, खोज तथा उद्दार, राहत र विपद पश्चातका अवस्थामा अपाङ्गता भएका व्यक्तिको सहज पहुँच सुनिश्चित गर्न आवश्यक तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, गराउने
  • विपद पर्व तयारीका चरणमा गरिने सामग्रीको भण्डाणमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाइ समेत मध्य नजर राखी त्यस्ता सामग्रीको छुट्टै सूची बनाइ भण्डारण गर्ने व्यवस्था मिलाउने

३८. सामाजिक उत्तरदायित्वः

  • ऐनको दफा ४९ को उपदफा (१) प्रयोजनको लागि प्रतिष्ठान तथा शैक्षिक संस्थाले आफ्नो आयबाट नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको रकम अपाङ्गता भएका व्यक्ति प्रतिको सामाजिक उत्तरदायित्व अन्गर्गत छुट्याउनु पर्नेछ ।
  • उपनियम (१) बमोजिमको रकमको उपयोग अपाङ्गता भएको स्वास्थ्य शिक्षा रोजगारीका अवसरहरुको सम्बर्धन, प्रवर्धन, पुनर्स्थापना र सशक्तिकरणको काम समेतको लागि गरिने छ ।

 ३९.घुम्ती सेवा सञ्चालन :

  • मन्त्रालयले प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरी ऐनको दफा ५९ बमोजिम अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन आवश्यकता अनुसार घुम्ती सेवा सञ्चालन गर्नसक्नेछ ।
  • उपनियम (१) बमोजिम सञ्चालन हुने घुम्ती सेवाको अवधी तथा उपलब्ध हुने सेवाका सम्बन्धमा प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र स्थानीय तहले त्यस्तो सेवा सञ्चालन हुने कम्तिमा पन्ध्र दिन अघि विभिन्न संचार माध्यमबाट सूचना प्रवाह गर्नुपर्नेछ ।

४०. अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्नेः मन्त्रालयले  नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस निमावलीको अनुसूचीमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।

४१. खारेजी बचाउः  (१) अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ खारेज गरीएको छ ।

(२) अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

 

 अनुसूची १

(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र पाउनको लागि दिने निवेदनको ढाँचा

श्री कार्यालय प्रमुख

मार्फत………

………….नगरपालिका/ गाउँपालिका

मिति :……………… ……..

 

विषय : अपाङ्गता को परिचयपत्र पाउँ ।

महोदय,

निम्न लिखित विवरण सहित अपाङ्गताको परिचयपत्र पाउन यो निवेदन पेश गरेको छु । मैले पेस गरेको विवरण ठीक साँचो छ, झुट्टा ठहरे प्रचलित कानुन बमोजिम सजाय भोग्न मञ्जुर छु ।

  • नाम थर ………………… ……………….
  • उमेर ……………… वर्ष
  • लिङ्गः पुरुष/ महिला/अन्य
  • जन्म मितिः साल………..महिना ……….. गते ………..
  • ठेगानाः
  • स्थायी ठेगानाः प्रदेश ……….. जिल्ला ……….. गाउँपालिका/ नगरपालिका वडा नं ……….. टोल ………..।
  • अस्थायी ठेगानाः प्रदेश ………..जिल्ला ……….. गाउँपालिका/ नगरपालिका वडा नं ……….. टोल……….. ।
  • सम्पर्क नः ………..………..………..
  • परिवारको सदस्य वा संरक्षकको नाम, थर ………..………..………..निवेदकको नाताः………..………..
  • परिवारको सदस्य वा संरक्षकको टेलिफोन वा मोबाइल नः ………..………..……
  • अपाङ्गताको प्रकार: ……………
  • शरीरको अङ्ग, संरचना, प्रणालीमा आएको क्षतिको विवरण:

……………… ……………………… ………………………………

……………………  …………………………         …………………

………………… ………………………..      …………………..

१०     क्षति भएपछि दैनिक कृयाकलापमा आएको अवरोध वा सीमितताको विवरण

…………………………         ………………………..      ………………………

……………………………………..        ………………………………………………      ………………………………….

…………………………………………   .         …………………………………….         ……………………………………

…………………………………… ………………………………………….. …………………………

११.   अपाङ्गताको कारण: रोगको दीर्घ असर/दुर्घटना/ जन्मजात       / सशस्त्र द्वन्द्व  /वंशानुगत कारण/ अन्य

१२. सहायक सामग्री प्रयोग गर्नु पर्ने आवश्यकता भए वा नभएको:

१३. आवश्यकता भएको भए कस्तो प्रकारको सहायक सामग्रीको प्रयोग गर्नुपर्ने हो सो को विवरण:  …………………………………………………………………………

१४.सहायक सामग्री प्रयोग गर्ने गरेको वा नगरेको:

१५. सहायक सामग्री प्रयोग गर्ने गरेको भए सामग्रीको नाम : ……………………. ………..

१६. अन्य व्यक्तिको सहयोग विना गर्न सक्ने दैनिक कार्य:

क) …………………….         ख)………………………. ग) ………………………… घ) ……………………..   ङ) ……………………  च) ………………………

१७.    अन्य व्यक्तिको सहयोग लिनु पर्ने भए त्यस्तो सहयोग लिनु पर्ने काम:      क)………….. ख)……………ग) ……………… घ)………………       ङ)……………..च) ………………

१८. पछिल्लो शैक्षिक योग्यता: निरक्षर/साक्षर/प्राथमिक तह   / निम्न माध्यमिक तह/ तह/ विद्यावारिधी तह

१९.  कुनै तालिम प्राप्त गरेको भए मुख्य तालिम नाम:

…………………………. ……………………………………………………………………………………………….. …

२०.    हालको पेशा:  अध्ययन/ कृषि व्यावसाय/ स्वरोजगार/सरकारी सेवा/ निजी क्षेत्रमा सेवा/ केही नगरेको/ अन्य

निवेदक/परिवारको सदस्य वा संरक्षकको:

नाम,थर: ………………………..

दस्तखता………………….
मिति………………….

अनुसूची २
(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)

अपाङ्गता भएका व्यक्तिको परिचयत्रको ढाँचा

…………………………….. गाउँपालिका/नगरपालिका

परिचयपत्र नम्बरः –

अपाङ्गताको परिचयपत्र

नाम,थरः- ……………………

स्थायी ठेगानाः प्रदेश ……………..जिल्ला………… नगरपालिका/गाउँपालिका……………………………..वडा नं: ……………………

जन्ममितिः …………………… नागरीकता नम्बर/ जिल्ला: ……………………..

लिङ्गः- …………  ………….   रक्त समुह…………..

अपाङ्गताको किसिमः प्रकृतिको आधारमा …………गम्भीरताको आधारमा ……..
बाबु/आमा वा संरक्षकको नाम, थर …………………………………………
९) परिचयपत्र वाहकको दस्तखतः-
१०) परिचय पत्र प्रमाणित गर्नेको  ………….

दस्तखतः
नाम, थर
पद
मिति

यो परिचपत्र कसैले पाएमा नजिकको प्रहरी कार्यालय वा गाउँपालिका/नगरपालिकामा वुझाइ दिनु होला 

 

…………………………Rural municipality/Municipality

ID Card Number: –

Disability Identity Card

Name, Surname-

Permanent Address:  Province ……………..District………. Rural municipality/ Municipality…………Ward No:………..Local Level………
Date of Birth-         Citizenship Number/District: ……………………..
Sex: …………  ………….   Blood Group…………..
Types of Disability: On the basis of nature  ……………………..On the basis of Severity……. ……..
Name of Father/Mother or Protector …………………………………………
Signature of ID card Holder……………….-
ID card certifying officials:
Signature:…………………….
Name, Surname:……………
Designation: ……………
Date:…………………

“If somebody finds this ID card, please hand it over to the nearby police office or Rural Municipality/Municipality”  

अनुसूची ३
(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)

उजुरीको ढाँचा                                                                                                                                        मिति :

श्री …………….. ……………………………………..

मार्फत,
श्री ……………………………………..‍…………… कार्यालय ।

बिषय : उजुरी  सम्बन्धमा
महोदय,

उपर्युक्त सम्बन्धमा म/श्री …………………को तर्फबाट म  ……………………… ले अपाङ्गताको परिचयपत्र पाउनको लागि मिति ………………………. मा…………….. कार्यालयमा निवेदन दिएकोमा …………….. सो कार्यालयले मिति …………….. मा मलाई/……………. लाई अपाङ्गताको परिचयपत्र दिन नमिल्ने भनि निर्णय गरेको जानकारी प्राप्त हुन आएको हुँदा उक्त निर्णय देहायका आधार तथा प्रमाणबाट त्रुटिपूर्ण भएको कारण मेरो चित्त नबुझेकोले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा (४) को उपदफा (७)  तथा  अपाङ्ता भएका ब्यक्तिको अधिकार सम्बन्धि नियमावली, २०७६  को  नियम ६ बमोजिम देहाय का काग जात संलग्न गरी  यो उजुरी पेश गरेको छु । मैले पेश गरेको संलग्न आधार तथा प्रमाणको आधारमा अपाङ्गता परिचयपत्र पाउने गरी निर्णय  गरी पाउँ ।

  • निर्णय त्रुटीपूर्ण भएको आधार, कारण प्रमाण:

(क) …………………………………………
(ख)………………………………………
(ग)……………………………………………

 

(२) संलग्न कागजात:

(क) परिचय पत्र दिन नमिल्ने भनि गरेको निर्णयको प्रतिलिपी
(ख) नागरीकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
(ग)  अपाङ्गता भएको ब्यहोरा खुल्ने गरी चिकित्सकले गरेको सिफारीशको प्रतिलिपि
(घ)  अन्य

 उजुरीकर्ताको,-
दस्तखत :
नाम थर :
ठेगाना
परिवारको सदस्य वा संरक्षकको नाम :
सम्पर्क नम्बर:

अनुसूची ४

(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)

अपाङ्गता भएका व्यक्तिको अभिलेखको ढाँचा

क्रम संख्याः-

अपाङ्गता परिचयपत्र नम्बरः-                    परिचयपत्रको प्रकार …………….

१) नाम, थरः-

२) स्थायी ठेगाना:           प्रदेश:                            जिल्ला :                   गाउँपलिका/ नगरपालिका:                                             वडा नं:

३) अस्थायि ठेगाना प्रदेश:                           जिल्ला :                   गाउँपलिका/ नगरपालिका:                                    वडा नं:

४) जन्म मितिः-                                                ५) नगरिकता नम्बरः-

६) लिङ्गः-               ७) रक्त समुह                      ८) विवाहित/अविवाहितः-

९) बाबु/आमा, परिवारको सदस्य वा संरक्षकको नाम, थरः-

१०) ठेगानाः- प्रदेश               जिल्ला           स्थानीय तह:             वडा नं:

११) अपाङ्गता भएको व्यक्तिसँगको नाताः-

१२) पछिल्लो शैक्षिक योग्यताः-

१३) हाल अध्ययनरत शैक्षिक संस्था: अहिलेसम्म नगएको/अध्ययनरत/पढाइ सकेको

१४) पेशाः-

१५) अपाङ्गताको किसिमः-

क) अपाङ्गताको प्रकृतिको आधारमा ………………..

ख) अपाङ्गताको गम्भीरताको आधारमा ……………………..

१६) के कस्ता दैनिक क्रियाकलाप  गर्न सकिन्छ ?

……………………………… ………………………………………….. …………

……………………………. ………………………………. ………………………

१७) के कस्ता दैनिक क्रियाकलापहरू गर्न सकिँदैन ?

………………………………………………………… ……………………………

………………………………………………………………….. …………………..

१८) सहायक सामग्री आवश्यक पर्ने      वा नपर्ने

आवश्यक पर्ने भएमा  आवश्यक पर्ने सामाग्रीको विवरण:…………………………

१९) हाल सहायक सामग्री पाए/नपाएको:

२०) परिचय-पत्र वाहकले प्राप्त गरेका अन्य सेवा, सुविधा

………………………………………………………………………………………………… ……………………………..

……………………………………………………………………………………………….. ………………………………

२०) परिचयपत्र बाहकलाइ आवश्यक परेका अन्य सेवा सुविधा:

…………………………………………………….. …………………………………..

…………………………………………………………………. ……………………..

२१). सेवा, सुविधा प्रदान गर्ने निकायः- …………………… ……………

२२) अन्य ………………………………………………

प्रमाणित गर्ने अधिकारीकोः
दस्तखतः-
नाम, थरः-
पदः
कार्यालयः-
मिति:

अनुसूची ५
(नियम ८ को उपनियम (१) सँग सम्बन्धित)

  1. स्टाइलस, स्लेट, व्रेल पेपर
  2. ब्रेल मेमो
  3. ब्रेल डिस्पलेयर
  4. डेजी प्लेयर, सफ्टवेयर, स्कृन रिडीङ सफ्टवेयर
  5. सेतो छडी
  6. बाटर इन्डिकेटर
  7. लाइट इन्डिकेटर
  8. अव्जेक्ट इन्डिकेटर
  9. विभिन्न प्रकारका ह्वीलचियर
  10. वैसाखी, लठ्ठी, इल्वो क्रचेस, एग्जलरी क्रचेस
  11. वाकर, अपाङ्गता भएका व्यक्तिहरूलाइ वस्न बनाइने विशेष प्रकारको कुर्सी
  12. क्यालिपर
  13. विशेष प्रकारको जुत्ता
  14. कृतिम हात खुट्टा र स्पाइनल ब्रेस
  15. मेरूदण्ड पक्षघात भएका व्यक्तिहरूको लागि क्याथेटर र डाइपर एयर कुशन
  16. विशेष प्रकारको कमोड, कमोड चेयर
  17. श्रवण यन्त्र Audio induction loop system,  Infrared system, Frequency   modulation system, Communication access real time translation, Automatic speech recognition
  18. म्याग्नीफाइङ ग्लास, उच्च क्षमताको चस्मा
  19. स्वर यन्त्र
  20. मेरूदण्ड पक्षघात भएकाहरूका लागि एयर म्याट्रेस (Air mattress), जेलि कुशन (Jelly cushion) 

अनुसूची

(नियम २६ को उपनियम (१) सँग सम्बन्धित)
पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालनको स्वीकृतिका लागि दिने निवेदनको ढाँचा

 मितिः
श्री ……………………… कार्यालय,

विषय : पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न स्वीकृति पाउँ

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी  ऐन, २०७४ तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी  नियमावली, २०७६, बमोजिम पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न हाम्रो संस्था इच्छुक भएकाले देहायको विवरण सहित स्वीकृतिको लागि यो निवेदन पेश गरेको छु ।

क) संस्थाको नामः
(ख) संस्थाको ठेगानाः
(ग) संस्थाका पदाधिकारीको नाम, थर र ठेगानाः(घ) सम्पर्क गर्नु पर्ने व्यक्तिः
ङ) संस्थाको विधानको प्रतिलिपी
च) संस्थाको निर्णयको प्रतिलिपी
छ) दर्ता तथा नविकरणको प्रमाणपत्रको प्रतिलिपी
ज) गत आ.ब. को प्रगति तथा लेखापरीक्षण प्रतिवेदन
झ) कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
ञ) कर छुटको प्रमाणपत्र भए सोको प्रतिलिपी

संस्थाको आधिकार प्राप्त व्यक्तिको,

दस्तखत:
नाम, थर:
सम्पर्क ठेगानाः

मिति

अनुसूची

(नियम २६ को उपनियम (२) सँग सम्बन्धित)
पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालनको स्वीकृति

 

……………………………………….. (संस्थाको नाम) लाई अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७६ बमोजिम पुनर्स्थापना केन्द्र स्थापना तथा सञ्चालन गर्न मिति ……….. ……..को निर्णय अनुसार यो स्वीकृति प्रदान गरीएको छ ।

 

स्वीकृति दिने व्यक्तिको

दस्तखत ………………………
नाम, थर :…………………….
पद …………………………..
कार्यालय ………………………

मितिः

अपाङ्गता  भएका  व्यक्तिको अधिकार सम्बन्धी नियमावली,२०७६ लाई PDF फर्माट पनि पढ्न र डाउनलोड गर्न देहाय बमोजिम रहेको छः

PDF डाउनलोड लिङ्क