Accessibility Options


Skip to Navigation Skip to Content
Jul 13, 2016

प्रेस विज्ञप्ति: अपांगता अधिकार ऐन २०७२ को विधेयक छिटो पारित गरियोस भन्ने सम्वन्धमा


२९, असार २०७२ काठमाण्डौ

आदरणीय संचारकर्मी ज्यु,

बिषय: अपांगता अधिकार ऐन २०७२ को विधेयक छिटो पारित गरियोस भन्ने सम्वन्धमा ।

नेपालको संविधान (२०७२) जारी भई गणतन्त्रको संस्थागत गर्ने मार्गमा नेपाल निरन्तर अगाडी लम्किरहेको छ । सिमान्तकृत लगायत सवै नागरिकहरुका सवालहरु नयाँ सम्विधानले संवोधन गरेको छ । नयाँ संविधानले अपांगता भएका नागरिकहरुका सवाललाई धेरै हदसम्म संवोधन गरेको हामी अपांगता क्षेत्रका सरोकारवाला र अभियान्ताहरुले अनुभुती गरेका छौ ।

नागरिकहरुका अधिकारहरु संविधानमा संवोधन भएर मात्र हुँदैन ति अधिकारहरुलाई कार्यान्वयन गर्नको लागी ऐन, नियमावली, नीति, नियम र निर्देशिका आदी बन्नु जरुरी हुन आउँदछ । नेपालमा अपांगता भएका नागरिकहरुका लागि यस भन्दा अगाडी जतिपनि कानूनहरु बनेका थिए ति सवै कानुनहरु अपांगताको हकमा दयामा आधारित भएर निर्माण भएको हुँदा अपांगता भएका नागरिकहरुले जुन रुपमा अधिकार प्राप्त गर्नु पर्ने हो ? सो रुपमा अधिकार प्राप्त गर्न नसकेको हामीलाई महशुस भएको छ । अझैपनि बहुसंख्यक अपांगता भएका नागरिकहरु अत्यन्त दयनिय अवस्थामा वाँच्न विवस छन् । अपांगतामा पनि अति वा पुर्ण अशक्त अपांगता भएका व्यक्तिहरु, हेमोफेलिया, मनोसामाजिक, बौद्धिक अपांगता ,अटिजम ,डाउनसिन्ड्रोम, श्रवण दृष्टिविहिन, अपांगता भएका महिला, कुष्ठप्रभावित र सिकाई अपांगता लागायतका अपांगता भएका व्यक्तिहरु झनै कठिन र दयनिय अवस्थामा जीवन व्यतित गर्न विवस रहेका छन् ।

अपांगता समुदायभित्र संचार र सिकाईका लागि नभई नहुने स्पर्स संचार, सांकेतिक भाषा र व्रेललिपी र अन्य उपयुक्त संचार प्रविधिको विकास र विस्तार गर्न अझैपनि स्पस्ट रुपमा तोकिएर छुट्टै संयन्त्रको विकास हुन सकेको छैन । नेपाल सरकारका तर्फबाट यि र यस्तै सवालहरुलाई संवोधन गर्ने गरि र अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धी २००६ लाई कार्यान्वयन गर्न गराउन र कानूनलाई समयअनुकुल वनाउनु पर्छ भनि लामो समय देखी अपांगता जगतले वकालत गर्दै आयो तर विभिन्न चरणमा पाँच पटक सम्म अपांगता सम्वन्धि ऐन पुनर्लेखन गरिए पनि यो संसदबाट पास हुन सकेन । पछिल्लो समयमा छैठौपटक पुन अर्को कार्यदल बनाई ऐन निर्माण गर्ने कार्य अगाडी बढी सवै प्रकृया पुरा गरि अपांगता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी ऐन २०७२ को विधेयक ,२०७२ साल मंसिरमा व्यवस्थापिका संसदमा दर्ता भएको ६ महिनापछी २०७३ असार २० गते मात्र संसदमा टेवुल भयो ।

Press meet organized by NFDN to pressurize the disability rights bill approval process

यो विधेयक तयार गर्नको लागि सवै सरोकारवालाहरुले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयसंग निरन्तर सहकार्य गरेका थिए । राष्ट्रिय अपांग महासंघ नेपलाको नेतृत्वमा उक्त विधेयकमा सुझाव दिने कार्य भएको थियो भने, महासंघका सदस्य संस्था माई राईट र माईराईटको साझेदारीमा संचालित राष्ट्रिय साझा कार्यक्रम अन्तर्गतका साझेदार संस्थाहरु, यस क्षेत्रका सवै सरोकारवालाहरुको ठुलो सहयोग र भुमिका रह्यो । अपांगता भएका व्यक्तिहरुका सवाललाई विकास र अधिकारको अवधारणामा अगाडी लैजान छुटेका वर्गको सवाल समावेश गर्न र अपांगताको पहिचान दिलाउन यो विधेयक छिटो भन्दा छिटो पारित होस भन्ने हाम्रो चाहना रहेको छ । यो विधेयक निर्माणका क्रममा सरोकारवालाहरुको संलग्नतामा प्रशस्त सुझाव संकलन भएको हुँदा यो विधेयकमा खासै संशोधन गर्नु पर्ने कुरा हामी सरोकारवालाहरुको तर्फबाट देख्दैनौ । तर पनि यो बिधेयक पारित हुनमा भएको ढिलाईले गर्दा हामी ठुलो मर्कामा परेका छौ । यस विधेयक पारित हुन ढिलाई भएको कारणले गर्दा अपांगता क्षेत्रका थुप्रै अधिकारहरु कार्यान्वयनमा ढिलाई भएको हामीले महशुस गरेका छौ ।

तसर्थ सवालको संवेदनशिलता र गांभिर्यतालाई बुझेर यो विधेक छिटो भन्दा छिटो पारित होस भनि आदरणीय संचार कर्मीहरुमार्फत व्यवस्थापिका संसद, संसद र यो सवालसंग प्रत्यक्ष सरोकार राख्ने महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय लाई छिटो भन्दा छिटो ऐन पारित गर्न हार्दिक अनुरोध गर्दछौ ।

अन्त्यमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने सम्पुर्ण संचार कर्मी ज्युहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।

धन्यबाद ।

‍सुदर्शन सुवेदी
अध्यक्ष

र यो पनि पढ्नुहोस्:

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७२ को बिधेयक र छिटो पारित गर्नु पर्ने औचित्य

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.