Accessibility Options


Skip to Navigation Skip to Content
Dec 3, 2015

अपाङ्गता भएका व्यक्तिहरूको २४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको शुभकामना


नेपाल सरकार
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय
सिंहदरवार, काठमाडौँ ।
 
"अर्थपूर्ण समावेशीकरणः सबै क्षमताका व्यक्तिहरूका लागि पहुँच र सशक्तीकरण" भन्ने मूल नाराका साथ हामीले आज नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको चौबीसौं अन्तर्राष्ट्रिय दिवस मनाउँदै छौं । यस अवसरमा अपाङ्गता भएका व्यक्तिहरू, यस क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरु, सरकारी तथा गैरसरकारी निकायहरू, विकासका साझेदारहरू, सम्पूर्ण दिदीबहिनी, दाजुभाइ, नागरिक समाजका प्रतिनिधिहरू एवं पत्रकारबन्धुहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
 
भर्खरै जारी भएको नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिहरूको नागिरक तथा राजनीतिक अधिकारको साथसाथै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको समेत पूर्ण प्रत्याभूति गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्गीय महासन्धि एवं यसको इच्छाधीन आलेख, २००६ लाई नेपालले अनुमोदन गरिसकेको परिप्रेक्ष्यमा ती दस्तावेजमा उल्लेखित प्रावधानहरूलाई राष्ट्रिय कानुनमा रूपान्तरण गरी कार्यान्वयन कार्य जारी रहेको छ । अपाङ्गता भएका व्यक्तिहरूका सेवासुविधाहरूलाई अधिकारमुखी अवधारणाबाट प्रवाह गर्न जोड दिँदै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७२ लाई संसदमा दर्ता गरिएको छ । अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ लाई पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गताको किसिम अनुसार वर्गीकरण गरी मासिक सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम देशभरि सञ्चालन गरिएको छ । यस्तै अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने आवश्यक सहायक सामग्री उत्पादन तथा वितरण कार्यलाई सरकारले उच्च प्राथमिकताम राखेको छ । अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ जारी गरी सबै सार्वजनिक सरोकारका निकायहरूलाई अपाङ्गमैत्री बनाउन, भूकम्पबाट भत्किएका संरचनाको पुनर्निर्माण र नवनिर्माण अपाङ्गमैत्री किसिमले गर्न तथा सूचना तथा सञ्चारलाई पहुँचयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको छ । बदलिँदो विश्वपरिवेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले निर्देश एवं प्रत्याभूति गरेअनुरुप अपाङ्ता भएका व्यक्तिहरुका सेवा सुविधाहरुलाई नवीन प्रविधिको प्रयोगमा जोड दिई उनीहरूको जीवनलाई सहज र सरल बनाउने प्रयास गरिएको छ । उनीहरुको पहुँच राज्य संरचनामा पुर्याउन समावेशीकरणको सिद्धान्तअनुसार सकारात्मक विभेदको नीति अवलम्बन गरिएको छ । आरक्षणका मा ध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूको निजामती सेवामा सङ्ख्यात्मक बढोत्तरी, सामाजिक एवं आर्थिक सशक्तीकरण गर्दै स्वाबलम्बी बनाएर सम्मानित नागरिकका रुपमा परिवार र समाजमा नै पुनस्र्थापित गर्नु हामी सबैको सामाजिक कर्तव्य हो । यसका लागि अपाङ्ता भएका व्यक्तिहरु पनि स्वयं सजग र क्रियाशील भई आफ्ना हक र अधिकारहरुको प्रचलनका निम्ति तयार हुन जरूरी छ । विकासका साझेदार निकाय, सम्बद्ध सङ्घ, संस्थाहरु स्थानीय निकाय, नागरिक समाजसमेतको सहयोग र समन्वयमा थप कार्यक्रमहरु संचालन गरिएको छ । यसका अतिरिक्त अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याई बढ्दो अपाङ्तालाई रोक्न प्रतिरोधात्मक र उपचारात्मक उपायहरु अवलम्बन गरिएको छ । सामाजिक सचेतना कायम गर्नका लागि रेडियो तथा टेलिभिजन कार्यक्रमहरू सञ्चालन गरिएको छ । अपाङ्ता भएका व्यक्तिहरुमा पनि सामान्य व्यक्तिमा जस्तै अपार क्षमता र प्रतिभा रहेको हुन्छ । उनीहरूले उचित पहिचान अवसर र पहुँच प्राप्त गरेमा राष्ट्र र समाजका लागि योगदान दिन सक्छन् भन्ने प्रशस्त उदाहरण रहेका छन् । त्यसैले सरोकारवाला सबैमा सचेतना अभिवृद्धि गर्न यस दिवसले थप योगदान पुर्याउने छ भन्ने मैले विश्वास लिएको छु र अपाङ्गता भएका सबै नागरिकहरु र यस क्षेत्रमा काम गर्ने सबै संघ संस्थाहरुमा थप जोश, जाँगर तथा हौसला मिलोस् र हामी सबैको संयुक्त प्रयासबाट अपाङ्ता भएका व्यक्तिहरुको सर्वतोमुखी हित र अधिकार संरक्षण गर्ने उद्देश्य प्राप्तिमा सफलता मिलोस् भन्ने कामना गर्दछु।
 
..............................
मधु प्रसाद रेग्मी
सचिव
मिति: २०७२/०८/१७
 
(मन्त्रालयको व्यक्तव्यको स्क्यान कपि डाउनलोड, पृष्ठ १ | पृष्ठ २ )

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.