Accessibility Options


Skip to Navigation Skip to Content
Dec 10, 2016

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानवअधिकार महाभेला २०१६ को जानकारी


Read this information in English

आयोजकको बारेमा  

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय छाता संगठन हो जसले देशभरीका ३३७ वटा अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूलाई प्रतिनिधित्व गरिरहेको छ । यो संस्था “संघ संस्था दर्ता ऐन २०३४” अनुसार विधिवत दर्ता भएको सामाजिक र गैरनाफामुलक गैर सरकारी संस्था हो । सन २०५० सालमा स्थापना भई लगातार रूपमा यो संस्थाले आफ्ना पैरवी, जनचेतना अभिवृद्धि, क्षमता विकास र सहकार्य तथा सञ्जालिकरण जस्ता मुख्य रणनीतिहरू अपनाई अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र प्रवर्द्धनका लागि काम गरिरहेको छ ।  

 

पृष्ठभूमी

विश्व स्वास्थ्य संगठन र विश्व बैंकले सन २०११ मा प्रकाशित गरेको अपाङ्गता सम्बन्धी विश्व प्रतिवेदनका अनुसार विश्वको कुल जनसंख्याको १५ प्रतिशत मानिसहरू कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । यद्दपी विभिन्न देशहरूले आफ्नो देशमा गरेका छुट्टाछुट्टै सर्भेक्षणहरूले देखाउने अपाङ्गताको दर भने देशले अवलम्बन गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरण, सर्भेक्षण पद्धति, समुदायको चेतनाको स्तर, अपाङ्गता भएका बालबालिकाको मृत्यू दर र सामाजिक भेदभावको कारणले पनि फरक पर्नेगरेको छ । नेपालमा २०६८ सालमा गरिएको जनगणनाको प्रतिवदेनले देखाएअनुसार नेपालको कुल जनसंख्याको १.९४ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको जनाएको छ भने सोहि साल राष्ट्रिय योजना आयोगले गरेको नेपालीहरूको जीवनस्तर अध्ययनको प्रतिवदेनले जनाए अनुसार कुल जनसंख्याको ३.६ प्रतिशत मानिसहरूमा अपाङ्गता रहेको छ ।

नेपाल सन २०१० मा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासंधिको पक्षराष्ट्र भएको हो । कानुनी रूपमा बाध्यकारी यस दस्तावेजले अपाङ्गतालाई सामाजिक र अधिकारमुखी अवधारणाको आधारमा व्याख्या गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई दया र उपकारको पात्र वा उपचार गर्नुपर्ने विरामी वा समाजिक सुरक्षाको दृष्टिकोणले मात्र हेर्नुपर्ने समुदाय होइनन र उनीहरू पनि अन्य सरह समाजका समान सदस्य र सबै मानवअधिकारहरूका हकवालाहरू हुन भनि यस महासंधिले संबोधन गरेको छ । अन्य सरह समान आधारमा सबै मानवअधिकारहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा लागु गराउनको लागि यो महासंघी निकै बलियो दस्तावेजको रूपमा आएको छ ।

नेपालको संविधान २०७२ ले पनि अपाङ्गता भएका व्यक्तिहरूको केहि महत्वपूर्ण अधिकारहरूलाई सुनिश्चित समानुपातिक निर्वाचन प्रणालीको आधारमा संघीय र प्रादेशिक सभा प्रतिनिधित्व गर्न पाउने व्यवस्था गरेको छ । नेपालमा अपाङ्गता सम्बन्धी अलग्गै कानुनहरूको समेत व्यवस्था छ भने अन्य केहि विषयगत कानुनहरूमा समेत केहि अपाङ्गता भएका व्यक्तिका सेवा सुविधा सम्बन्धि प्रावधानहरू उल्लेख गरिएको छ जस्तै शिक्षा ऐन, शिक्षा नियमावली, स्थानीय स्वायत्त शासन ऐन, सार्वजनिक सवारी सम्बन्धी ऐन, निजामति सेवा ऐन आदि ।  

तर यस्ता विभिन्न कानुनी प्रावधानहरूको बाबजुद पनि यसको कार्यान्वयन भने निकै नै फितलो रहेको छ । अधिकांश विद्यालय जाने उमेरका बालबालिकाहरू अझै पनि विद्यालय बाहिर रहन बाध्य छन् । बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूलाई खोरमा थुनेर वा बाँधेर राख्ने वा त्यसरी राखेर परिवारका सदस्यहरू काममा जाने गरेका घटनाहरू बारम्बार सञ्चारमाध्यमहरूमा आउनेगरेका विभिन्न गैर सरकारी संस्थाले प्रकाशन गर्ने प्रतिवेदनहरूले देखाएकाछन् । अधिकांश विद्यालयहरूले आफ्ना विभिन्न समस्या र सिमितताहरू देखाई बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा भर्ना लिन इन्कार गर्ने गरेको पाइन्छ । अपाङ्गता भएका महिला र किशोरीहरूमाथि भएका यौनजन्य हिंसा, बलात्कार र दुर्व्यवहारका घटनाहरू पटक पटक सञ्चार माध्यहरूमा आउनेगरेका छन भने पिडित महिलाहरूले न्यायमा पहुँच पाउन नसकेका दर्जनौ उदाहरणहरू हाम्रा वरिपरि छन् ।   

यस्तो अवस्थामा बाँचिरहेका अपाङ्गता भएका व्यक्तिहरूलाई विद्यमान कानुनी व्यवस्थाहरू, सेवा तथा सुविधाहरूको बारेमा पनि पर्याप्त ज्ञान छैन । अपाङ्गताको आधारमा गरिने विभेदका कयौँ रूपहरू अझै समाजमा जरागाडेर रहेका छन र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासंधिले गरेका व्यवस्थाहरूको बारेमा समाजको तल्लो तह सम्म पुर्‍याउन सकिएको छैन । महासंधि अनुकुल हुनेगरी धेरै कानुनी प्रावधान र नीतिहरूमा परिवर्तन गर्नु पनि त्यतिकै जरूरी छ । सेवा सुविधा लिने सबैभन्दा पहिलो र महत्वपूर्ण शर्ता अपाङ्गता परिचयपत्र हुँदाहुँदै पनि धेरै गाउँस्तरमा रहेका अपाङ्गता भएका व्यक्तिहरू यो सुविधाबाट बञ्चित छन् ।  

अधिकांश समुदायमा अपाङ्गतालाई अझै पनि पूर्वजन्मको पापको रूपमा व्याख्या गरिन्छ । यस्तो सोचले गर्दा पनि समाजमा अपाङ्गता भएका व्यक्तिहरू प्रति विभिन्न प्रकारका विभेद, हिंसा र दुर्व्यवहारहरू हुनेगर्छन् । अझ यस बाहेक परिवार, समुदाय र सार्वजनिक स्थानमा अपाङ्गता भएका व्यक्तिहरूलाई कस्तो प्रकारको व्यवहार गर्नुपर्छ भन्ने बारेमा धेरैमा अनभिज्ञता रहेको छ । अझ अपाङ्गताको विषयमा कतिपय सञ्चार माध्यमहरूमा गरिने नकारात्मक र परम्परागत सम्प्रेषणहरूले समाजको उक्त सोचलाई नजानिदो किसिमले बढावा दिइरहेको हुन्छ ।    

 

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानवअधिकार महाभेला

अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय मानवअधिकार महाभेला अपाङ्गता भएका व्यक्ति र सम्बन्धित सरकारी तथा गैरसरकारी सरोकारवालाहरूको वृहत भेला हो । यो २०१६ को डिसेम्वर महिनाको १२ र १३ मा हुँदैछ र यसमा मुख्य उद्देश्यहरू देहायबमोजिम छन् । 

  • अपाङ्गता भएका व्यक्तिका मानवअधिकार सँग सम्बन्धित विभिन्न जल्दाबल्दा सवालहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठान गर्ने र अपाङ्गता भएका व्यक्तिका मानवअधिकारहरूलाई प्रवर्द्धन गर्न सरोकारवालाहरूको सामुहिक प्रयासमा अभिवृद्धि गर्ने । 
  • सरोकारवालाहरूमा अपाङ्गता भएका व्यक्तिका मानवअधिकारहरुको बारेमा सचेतिकरण गर्ने र सन २०१७ र त्यस पछिका दिनहरूमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धिको कार्यान्वयनको लगि संयुक्त पैरवी रणनीति तयार गर्ने ।  

यस महाभेलाले नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूलाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकार प्रवर्द्धनको दिशामा काम गर्न पर्याप्त मार्गदर्शन गर्ने र जसले माथि उल्लेखित समस्याहरूको समाधानमा प्रत्यक्ष वा परोक्ष रूपमा योगदान गर्ने अपेक्षा राखिएको छ ।   

 

महाभेलाका मुख्य सहभागीहरू    

महासंघले विभिन्न क्षेत्रका ५०० भन्दा बढि सहभागीहरूलाई निमन्त्रणा गर्नेछ जो अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका संस्थाका प्रतिनिधिहरू, अपाङ्गता अधिकारकर्मी, मानवअधिकारकर्मीहरू, सरकारी निकायका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरू, महिला तथा बालअधिकारकर्मिहरू, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू, सांसदहरू, पत्रकार र अपाङ्गता क्षेत्रका सेवाप्रवाह गर्ने संस्थाका प्रतिनिधिहरू रहनेछन । यसबाहेक कुनैपनि इच्छुक व्यक्ति वा संस्थाले देहायबमोजिमको शुल्क तिरेर महाभेलामा भाग लिन सक्नेछ ।  
  • व्यक्तिगत सहभागीको लागि रु २००० प्रति व्यक्ति
  • संस्थागत सहभागीको लागि रू ३००० प्रतिव्यक्ति (दुईजना भए रू ५०००)

 

महाभेलामा सञ्चालन गरिने कृयाकलापहरू  

  • उद्घाटन सत्र : उद्घाटन सत्र औपचारिक प्रकृतिको हुनेछ जसमा महाभेलाको औपचारिक समुद्घाटन गरिनेछ । उद्घाटन पश्चात नेपालमा हालासालै गरिएको अपाङ्गता भएका व्यक्तिहरूको जीनवस्तर सम्बन्धी विस्तृत अध्ययनको प्रतिवेदनले खुलासा गरेका तथ्यहरूको बारेमा सहभागीहरूलाई जानकारी गराइनेछ । उक्त प्रस्तुति पश्चात विभिन्न अतिथि र प्रमुख अतिथिहरूको मन्तव्य र शुभकामनाहरू रहनेछन र उद्घाटन सत्र समापन गरिनेछ । 
  • समानान्तर सत्र : यस सत्रमा अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी विभिन्न विषयहरूमा ८ वटा कार्यपत्रहरू ४ वटा समानान्तर सेसनहरूमा विज्ञहरूद्वारा प्रस्तुत गरिनेछन । सहभागीहरू आफ्नो इच्छाअनुसारको शिर्षकका प्रस्तुतिहरूमा भाग लिन चारमध्ये कुनै पनि सेशनहरूमा बाँडिन सक्नेछन् । हरेक शिर्षकमा गरिने प्रस्तुतिहरू पश्चात प्यानलमा रहेका विज्ञहरूले आफ्नो राय दिनेछन, सहभागीहरूले पृष्ठपोषण वा प्रश्नहरू गर्नेछन, कार्यपत्र प्रस्तोतालाई सहभागीहरूका जिज्ञासालाई मेटाउन अवसर प्राप्त हुनेछ र अन्तमा सेसनका अध्यक्षले निश्कर्ष सहित शेसनलाई समापन गर्नेछन् ।     
  • बृत्तचित्र सेसन : समानान्तर सत्रहरूको समाप्ति पश्चात खानाको लागि विश्राम लिइनेछ । खानापश्चात सबै सहभागीहरू पुन एउटै हलमा भेला हुनेछन । त्यसपछि अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकार सम्बन्धी सवालहरूमा तयार पारिएका केहि वृत्तचित्र वा अडियोभिजुअल सामग्रीहरू प्रदर्शन गरिनेछ ।
  • समापन सत्र : वृत्त चित्रको प्रस्तुतिकरण पश्चात समापन सत्रको सञ्चालन गरिनेछ । समापन सत्र औपचारिक हुनेछ जसमा उच्च स्तरीय व्यक्तित्व र पदाधिकारीहरूको उपस्थिति रहनेछ । सत्रको सुरूवातमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासंधिको छायाँ प्रतिवेदनको प्रारम्भिक तथ्यहरूको बारेमा प्रस्तुतिकरण रहनेछ । त्यसपश्चात मानवअधिकार महाभेलाको काठमाडौ घोषणापत्र जारी गरिनेछ र कार्यक्रमको समापन गरिनेछ ।    
  • पैरवी रणनीति : डिसेम्वर १३ मा अपाङ्गता भएका व्यक्तिका संस्थाका प्रतिनिधिहरूसँग महासंघले छुट्टै बैठकको आयोजना गर्नेछ र उक्त बैठकवाट सन २०१७ र त्यसपछि सञ्चालन गरिने संयुक्त पैरवी रणनीति तयार गरिनेछ ।   

 

महाभेला पश्चातका गतिविधिहरू

  • महाभेलामा प्रस्तुत गरिएका कार्यपत्रहरूको संकलन तयार गरिनेछ । सो सङ्कलन सहित काठमाडौ घोषणापत्र र पैरवी रणनीति सबैलाई पहुँच हुनेगरी महासंघको आधिकारीक वेवसाइटमा राखिनेछ ।  
  • महाभेलाबाट पारित गरिएको पैरवी रणनीतिको कार्यान्वयनको लागि महासंघले विभिन्न साझेदार र सरोकारवालाहरूसँग सहकार्य र साझेदारी विकास गरिनेछ ।    

 

महाभेलामा सहयोग गर्ने हाम्रा महत्वपूर्ण साझेदारहरू  

  • महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय  
  • एफ एफ ओ नर्वे   
  • डि.पी.ओ.डी. डेनमार्क
  • नेदरल्याण्डस लेप्रोसी रिलिफ  
  • प्लान नेपाल
  • माइराइट्स
  • सीवीएम
  • एएसवी नेपाल
  • बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकहरूको महासंघ नेपाल   
  • फ्लेम
  • ह्याण्डिक्याप इन्टरनेशनल
  • सेभ द चिल्ड्रेन   
  • फेयरमेड

 

संक्षिप्त कार्यक्रम तालिका

मिति

समय

कृयाकलाप

१२ डिसेम्वर  

विहान ९:०० देखि ११:०० सम्म 

  • औपचारिक उद्घाटन
  • अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययनको प्रतिवदेन सम्बन्धी प्रस्तुति ।  
  • विभिन्न अतिथि तथा प्रमुख अतिथिको मन्तव्य र समापन   

विहान ११:०० देखि दिनको १:३० बजे सम्म

  • अपाङ्गता अधिकार सम्बन्धी विभिन्न सवालहरूमा समानान्तर सेसनहरूको सञ्चालन ।    

दिउँसो १:३० देखि २:३० सम्म

खानाको लागि विश्राम

२:३० देखि ३:३० सम्म

  • वृत्तचित्रहरूको प्रस्तुति  
  • घटना अध्ययन प्रस्तुति  

३:३० देखि ४:३० सम्म

  • सीआरपीडीको छायाँ प्रतिवेदनको वारेमा प्रारम्भिक तथ्यहरू सम्बन्धी जानकारी । 
  • काठमाडौ घोषणापत्र जारी
  • प्रमुख अतिथि वा अतिथिबाट मन्तव्य ।

१३ डिसेम्वर

विहान ९:३० देखि १०:३० सम्म

  • सदस्य संस्थाहरूलाई काठमाडौ घोषणापत्रको वारेमा अभिमुखीकरण

विहान १०:३० देखि ११:०० सम्म

  • पैरवी रणनीतिको प्रस्तुति र छलफल  

विहान ११:०० देखि १२:३० सम्म

  • पैरवी रणनीतिमा छलफल  

१२:३० देखि दिनको १:३० सम्म

खानाको लागि विश्राम

दिनको १:३० देखि ४:०० सम्म

  • पैरवी रणनीतिलाई अन्तिम रूप दिने

 

 

कार्यक्रम स्थल

युनाइटेड वर्ल्ड ट्रेड सेन्टर

त्रीपुरेश्वर, काठमाडौ नेपाल

 

Read this information in English

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.