Accessibility Options


Skip to Navigation Skip to Content
Oct 25, 2017

पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप कार्यक्रमका लागि आह्वान


Read this information in English

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल पहुँचयुक्तता सम्बन्धी मिडिया फेलोसिप (लेखनवृत्ति) कार्यक्रम, २०१७ का लागि इच्छुक पत्रकार/सञ्चारकर्मीबाटनिवेदन आह्वान गर्दछ । रेडियो, टेलिभिजन, छापा (पत्रिका) र अनलाइनमा पूर्ण वा अल्पकालीनरूपमा काम गरिरहेका वा स्वतन्त्र पत्रकारिता गरिरहेका सबै यस कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ ।

यो कार्यक्रम नोबेम्बर १५ देखि डिसेम्बर १५ सम्म करिब एक महिना सञ्चालन हुनेछ ।

पहुँचयुक्तता अपाङ्गता भएका व्यक्तिहरूको जीवनका सबै पक्षमा हुने सहभागितामा वृद्धि गर्न र उनीहरूले पाउनु पर्ने सेवा र सुविधा सहजरूपमा प्राप्त गर्नआवश्यक अनिवार्य पूर्वशर्त हो । अर्थात्, मानव भएर पाउनु पर्ने सबै अधिकारउपभोगका लागि पहिला नै तयार गरिनु पर्ने कुनै पनि किसिमको सहज एवं सकारात्मक सोच, वातावरण, परिस्थिति, प्रणाली वा पद्धति हो ।

त्यसैले, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ (सन्) को (यो दस्तावेजलाई नेपाल सरकारले समेत अनुमोदन गरिसकेको छ) धारा ३ मा पहुँचयुक्ततालाई महासन्धिको एक मुख्य सिद्धान्तका रूपमा स्वीकार गरिएको छ ।छोटकरीमा सीआरपीडी भनेर चिनिने यस महासन्धिको धारा ९ मा स्पष्टरूपमा पहुँचयुक्तताका लागि राज्यले अवलम्बन गर्नु पर्ने विविध उपायसहितको व्यवस्था गरिएको छ ।

सीआरपीडीलाई घरेलुकरण गर्ने सन्दर्भमा नेपालको संविधान(२०७२) मा अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य नागरिकसरह जीवनयापनका निम्ति सहज, दिगो र पहुँचयुक्त वातावरणनिर्माण गर्नु पर्ने कुरा उल्लेख गरिएको छ ।त्यसैगरी, नेपाल सरकारले न्यूनतम शर्त एवंमापदण्डहरूसहित अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ लागू गरिसकेको छ । यसैगरी, भूकम्पपछिको पुनर्निर्माणकार्यमा नीतिगतरूपमै सबै सार्वजनिक संरचनालाई अनिवार्यरूपमा पहुँचयुक्त बनाउने प्रतिबद्धतासहित काम अगाडि बढाइएको छ । सार्वजनिक र निजी क्षेत्रबाट समेत केही भौतिक संरचना, सञ्चार सेवा तथा अन्य सेवा निर्माण तथा पुनर्निर्माण गर्दा न्यूनतम मापदण्ड अवलम्बन गर्ने प्रयास भइरहेका छन् ।

तथापि, नीतिगतरूपमा भएका व्यवस्था व्यवहारमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन हुनसकेका छैनन्। अर्थात्,तोकिएका न्यूनतम मापदण्ड प्रायःकागजमै सिमित छन् । केही उदाहरणलाई छाड्ने हो भने निर्देशिका लागू गरिएको वर्ष २०६९ एवं गएको भूकम्पपछि निर्माण गरिएका प्रायःपूर्वाधारमा समेत तोकिएको न्यूनतम मापदण्ड पूरा गरिएको छैन । प्रवेशद्वारमा ह्विलचियर र्‌याम्प राखेर त्यस्ता संरचना सम्पूर्णरूपमा अपाङ्गतामैत्री भयो भनेर दाबी गर्ने प्रायः चलन छ, जबकि पहुँचयुक्त संरचनाका लागि र्‌याम्पसँगै  शौचालय, धारा, ढोका, सेवादिनेठाउँ, सूचनाप्रणालीलगायतधेरैकुरासमेत पहुँचयुक्त हुनु पर्ने हुन्छ 

यसैगरी, वेबसाइट एवं सूचना प्रवाह गर्ने अन्य प्रणाली एवं पद्धति विविध प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूसँगै सबै व्यक्तिहरूकोआवश्यकतालाई ध्यान दिर्इ तयार गरिनुपर्छ । न्यूनतम शर्तहरू पालना गरे-नगरेको जाँच गर्ने अनुगमन संयन्त्र तथा दण्ड एवंजरिवाना गर्ने व्यवस्था छैन ।

यसै परिप्रेक्ष्यमा कार्यक्रममा सहभागी हुने व्यक्तिले काठमाडौं उपत्यकाभित्र वा बाहिर (विशेषगरी भूकम्प प्रभावित क्षेत्र वा अन्य क्षेत्रमा समेत) भ्रमण गरी वा उपर्युक्त माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूलगायत सबैका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा प्रवर्द्धनका लागि गरिएका राम्रा प्रयास , संरचनाहरू पहुँचयुक्त नभएका कारण अपाङ्गता भएका व्यिक्तिहरूको जीवनमा परेको प्रभाव, पहुँचयुक्तता सम्बन्धी विविध सवालहरू साथै विद्यमान समस्या, चुनौती र तिनीहरूको सम्भावित समाधानका उपायबारे कम्तीमा एउटा सामग्री सङ्कलन र उत्पादन गरी आफू आबद्ध रहेको वा कुनै पनि राष्ट्रिय सञ्चार माध्यमबाट प्रसारण वा प्रकाशन गर्नु पर्ने हुन्छ । सामग्री प्रसारण वा प्रकाशनको माध्यम नेपाली वा अङ्ग्रेजी कुनै एक हुनसक्ने छ ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक पत्रकार वा सञ्चारकर्मीले आफ्नो वैयक्तिक विवरण (बायोडाटा), आधिकारिक परिचयपत्र (कुनै सञ्चार माध्यमसँग आबद्ध रहेका व्यक्तिका लागि) र आफूले यस अघि प्रसारण वा प्रकाशन गरेका कम्तीमा २ वटा सामग्रीसहित एउटा अवधारणापत्र (पृष्ठभूमि, उद्देश्य, विधि र बजेटसमेत खुलेको, बढीमा दुई पृष्ठ नबढ्ने गरी) तल दिइएको ठेगानामा विद्युतीय वा छापावा दुवै माध्यमबाट पठाउन सक्नुहुनेछ। प्राप्त निवेदन उपर छानबिन गरी छनोट गरिएका व्यक्तिलाई सहभागी गरार्इ सम्बन्धित विषयमा आधा दिनको अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।

सामग्री प्रसारण वा प्रकाशन गर्ने व्यक्तिलाई उपलब्ध गराइने रकम सम्बन्धित व्यक्तिले पेश गरेको अवधारणापत्र र त्यसमा उल्लिखित बजेटसमेतलाई आधार मानीनिर्धारण गरिने छ। प्रसारण वा प्रकाशन गरिएको सामग्री यस महासङ्घलाई उपलब्ध गराएपछि मात्र लेखनवृत्तिको सम्पूर्ण रकम उपलब्ध गराइने छ ।

निवेदन पठाउने ठेगाना र अन्तिम मिति, अवधारणापत्रको सामान्य रूपरेखा र अन्य जानकारीका लागि यसै सूचनासाथ राखिएको कार्यक्रम कार्यविधि हेर्नुहुन अनुरोधछ ।

तपाईँको अवधारण पत्र लाई यो ईमेलमा पेश गर्नुहोला:  communications@nfdn.org.np

Accesibility Media Fellwoship Guideline (Oct, 2017) - PDF Format

Read this information in English

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.