Accessibility Options


Skip to Navigation Skip to Content

अपाङ्गता परिचयपत्र (Disability ID Card)


सरकारी तथा गैरसरकारी निकायहरूबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रवाह गरिने सेवासुविधा, अवसर र अधिकारको न्यायपूर्ण र प्रभावकारी वितरण होस् भन्ने हेतुले तथा अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकारको धारकका रूपमा स्वीकार गरी नेपाल सरकारले अपाङ्गता परिचयपत्रको व्यवस्था गरेको हो । कुनै पनि उमेरका अपाङ्गता भएका सबै व्यक्तिले आफ्नो जिल्लाको महिला विकास कार्यालयबाट परिचयपत्र प्राप्त गर्न सक्नेछन् ।

परिचयपत्र प्राप्त गर्न आवश्यक कागजपत्र र पूरा गर्नुपर्ने प्रक्रियाका बारेमा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी निर्देशिका, २०६५ मा स्पष्ट उल्लेख गरिएको छ ।

परिचयपत्र प्राप्त गर्ने ठाउँ/निकाय : सम्बन्धित जिल्लाको महिला विकास कार्यालय ।

परिचयपत्रको प्रकार :

अपाङ्गताको परिभाषा र वर्गीकरण, २०६३ अनुसार अपाङ्गता परिचयपत्रलाई गम्भीरताका आधारमा चार भागमा वर्गीकृत गरिएको छ । हरेक परिचयपत्रलाई छुट्टाछुट्टै रंग दिइएको छ र परिचयपत्र लिन आउने अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गताको गम्भीरताअनुसार निजलाई उपयुक्त ठहर गरिएको परिचयपत्र प्रदान गरिन्छ । यस्तो परिचयपत्र “क” वर्गमा पर्ने अपाङ्गता भएका व्यक्तिका लागि रातो रंगमा, “ख” वर्गमा पर्नेका लागि निलो रंगमा, “ग” वर्गमा पर्नेका लागि पहेँलो रंगमा र “घ” वर्गमा पर्नेका लागि सेतो रंगमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

गम्भीरताका आधारमा गरिएको वर्गीकरण : (नेपाल राजपत्र खण्ड ५६, २०६३ भदौ २)

क) पूर्णअशक्त अपाङ्गता :

व्यक्तिको शारीरिक वा मानसिक प्रणालीमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्ण रूपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरू तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्ण रूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई “क” वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिनेछ । यो रातो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

ख) अतिअशक्त अपाङ्गता :

निरन्तर अरूको सहयोग लिएरमात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षाघात भई वा मांशपेसी विचलन भई वा मस्तिष्क पक्षाघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अङ्ग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफैँ गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूलाई, “ख” वर्गको परिचयपत्र उपलब्ध गराइनेछ । यो नीलो रंगमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

ग) मध्यम अपाङ्गता :

कृत्रिम अङ्गको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैँ गर्नसक्ने, पोलियो भई घुँडामुनिको अङ्गमामात्र प्रभाव परेको, स्वतन्त्र रूपमा हिँड्डुल गर्नसक्ने शारीरिकरूपमा अपाङ्गता भएका व्यक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बूढीऔँला र चोरऔँला नभएका तथा कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, तीन फिटमुनिका पुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, समूह “ग” को अपाङ्गता वर्गमा पर्दछन् । यस वर्गको परिचयपत्र पहेँलो रंगमा नीलो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

घ) सामान्य अपाङ्गता :

शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरऔँला भएका, खुट्टाको औँलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू “घ” वर्गमा पर्दछन् । यस वर्गको परिचयपत्र सेतो रंगमा कालो अक्षरले स्पष्ट पहिचान हुने गरी जारी गरिनेछ ।

परिचयपत्रको उपयोग कसरी गर्ने ?

अपाङ्गता भएका व्यक्तिहरूलाई भनेर राज्यलगायत अन्य गैरसरकारी निकायद्वारा प्रदान गरिएका विशेष सेवा तथा सुविधा, विशेष प्राथमिकता, सहुलियत, आरक्षणलगायत अन्य अवसरहरू उपभोग गर्न यो परिचयपत्र आवश्यक पर्छ । 

सुविधा ( अपाङ्गता परिचयपत्र) प्राप्त गर्ने प्रक्रिया

अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र वितरण निर्देशिका, २०६५ ले तय गरेको प्रक्रियाका आधारमा यो परिचयपत्र वितरण गरिन्छ । हाल यो परिचयपत्र सम्बन्धित जिल्लाको महिला विकास कार्यालयबाट उपलब्ध गराइने व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण निर्देशिका, २०६५ यस प्रकारको छ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.