Accessibility Options


Skip to Navigation Skip to Content

अपाङ्गताको परिभाषा तथा वर्गीकरण (Definition and Classification of Disability)


अपाङ्गताको परिभाषा तथा अपाङ्गपनको निर्धारण नेपाल राजपत्र, नेपाल सरकारद्वारा प्रकाशित, खण्ड ५६, काठमाडौं, भदौ २ गते २०६३ साल (अतिरिक्तांक ३३ ख + २), भाग ३ नेपाल सरकार, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सूचना नेपाल सरकारले अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा ३ को उपदफा (१) को प्रयोजनका लागि सोही दफाको उपदफा (२) बमोजिम गठित समितिको सिफारिसबमोजिम “अपाङ्गताको परिभाषा तथा अपाङ्गपनको निर्धारण” सम्बन्धमा देहायबमोजिमको मापदण्ड तोकेको छ ।

 

१. अपाङ्गताको परिभाषा :

शरीरका अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्यरूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई अपाङ्गता भनिन्छ ।

 

२. अपाङ्गताको वर्गीकरण :

शारीरिक अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्या एवं कठिनाइका प्रकृतिअनुसार अपाङ्गतालाई निम्नबमोजिम सात प्रकारमा वर्गीकरण गरिएको छ ।

२.१ : शारीरिक अपाङ्गता :

स्नायु, मांसपेसी र जोर्नीहरू तथा हड्डीको बनावट एवं सञ्चालन कार्यहरूमा भएको समस्याका कारणबाट व्यक्तिमा शारीरिक अङ्गहरूको सञ्चालन, प्रयोग र हिँडडुलमा आएको समस्या शारीरिक अपाङ्गता हो । जस्तै : बाल पक्षाघात (पोलियो), मस्तिष्क पक्षाघात (Cerebral Palsy) मांसपेसी विचलन (Muscular Dystrophy), जोर्नी र मेरुदण्डसम्बन्धी स्थायी समस्या, क्लबफिट, पैताला फर्केको, रिकेटस, हड्डीसम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता इत्यादि शारीरिक अपाङ्गता हो । होचापुड्का व्यक्तिहरू पनि परिभाषा अनुसार यस वर्गीकरणमा पर्दछन् ।

२.२ : दृष्टिसम्बन्धी अपाङ्गता :

दृष्टिसम्बन्धी समस्याका कारण व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने स्थिति दृष्टिसम्बन्धी अपाङ्गता हो । यो निम्न दुई प्रकारको हुन्छ ।

क) दृष्टिविहीनता (Blind) :

कुनै व्यक्ति औषधी, शल्यचिकित्सा तथा चस्मा प्रयोगजस्ता उपचारबाट पनि दुवै आँखाले हातको औँला १० फिटको दूरीबाट छुटयाउन सक्दैन अर्थात् स्नेलेन (Snellen) चार्टको पहिलो लाइनको अक्षर (३/६०) पढ्न सक्दैन भने त्यस्तो व्यक्तिलाई दृष्टिविहीन मानिनेछ । 

ख) न्यून दृष्टियुक्त (Low Vision) :

कुनै व्यक्ति औषधी, शल्यचिकित्सा तथा चस्मा प्रयोगजस्ता उपचारबाट पनि २० फिटको दूरीबाट हातको औँला छुटयाउन सक्दैन अर्थात् स्नेलेन (Snellen) चार्टको चौथो लाइनको अक्षर (६/१८) पढ्न सक्दैन भने त्यस्तो व्यक्तिलाई न्यून दृष्टियुक्त मानिनेछ ।

२.३ : सुनाइसम्बन्धी अपाङ्गता :

सुनाइका अंगहरूको बनावट एवं स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउने कार्यमा व्यक्तिमा भएको समस्या सुनाइसम्बन्धी अपाङ्गता हो । यो निम्न दुई प्रकारको हुन्छ :

२.३.१ : बहिरा (Deaf) :

नसुन्ने, अस्पष्ट बोल्ने वा बोल्न नसक्ने र सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति बहिरा हो । ८० डेसिबल (80 db) भन्दा माथिको ध्वनि पनि सुन्न नसक्ने व्यक्तिलाई बहिरा मानिनेछ ।

२.३.२ : सुस्त–श्रवण (Hard of Hearing) :

कान कममात्र सुन्ने तर कम सुनेर सफासँग बोल्नसक्ने, सुन्नलाई कानमा श्रवणयन्त्र राख्नुपर्ने व्यक्ति सुस्त श्रवण व्यक्ति हो । ६५ डेसिबल (65 db) देखि ८० डेसिबल (80 db) सम्मको ध्वनि सुन्नसक्ने व्यक्तिलाई सुस्त श्रवण मानिनेछ ।

२.४ : श्रवणदृष्टिविहीन (Deafblind) :

श्रवण र दृष्टिविहीनता दुवै भएको व्यक्ति श्रवणदृष्टिविहीन (Deaf-blind) अपाङ्ग मानिनेछ ।

२.५ : स्वर बोलाइसम्बन्धी अपाङ्गता :

स्वर र बोलाइसम्बन्धी अङ्गहरूमा उत्पन्न अप्ठ्यारोको कारण तथा बोल्दा स्वरको उतारचढावमा कठिनाइ, बोली स्पष्ट नहुनु, बोल्दा शब्द वा अक्षर दोहोरिनुलाई स्वर र बोलाइसम्बन्धी अपाङ्गता मानिनेछ ।

२.६. मानसिक अपाङ्गता :

मस्तिष्क र मानसिक अङ्गहरूमा आएको समस्या तथा सचेतन, अभिमुखीकरण, स्फ’र्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याका कारण उमेर र परिस्थितिअनुसार व्यवहार गर्न नसक्नु तथा वौद्धिक सिकाइमा ढिला हुनुलाई मानसिक अपाङ्गता मानिनेछ । यो निम्न तीन प्रकारको हुन्छ ।

२.६.१. बौद्धिक अपाङ्गता/सुस्त मनस्थिति:

१८ वर्षको उमेरअगावै बौद्धिक विकास नभएको कारणले उमेर वा वातावरणसापेक्ष क्रियाकलापहरू गर्न कठिनाइ हुने व्यक्तिलाई बौद्धिक अपाङ्ग/सुस्त मनस्थिति  मानिनेछ ।

२.६.२ मानसिक अस्वस्थता (Mental Illness) :

मानसिक अस्वस्थता वा कमीकमजोरी वा विकृतिका कारण दैनिक जीवनयापन गर्न कठिनाइ हुने अशक्ततालाई मानसिक अस्वस्थता मानिनेछ ।

२.६.३ अटिज्म (Autism) :

जन्मजातरूपमा कुनै व्यक्तिको उमेरको विकाससँगै सामान्य व्यवहार नदेखिनु, अस्वाभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लागातार दोहोर्याइरहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्नुलाई अटिज्म मानिनेछ ।

२.७. बहुअपाङ्गता :

माथि उल्लेख गरिएकामध्ये एउटै व्यक्तिमा दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गताको समस्यालाई बहुअपाङ्गता मानिनेछ ।

 

३. अशक्तताको गम्भीरताका आधारमा अपाङ्गताको वर्गीकरण :

क) पूर्णअशक्त अपाङ्गता :

दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर अरूको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थालाई पूर्ण अशक्त अपाङ्गता मानिनेछ ।

ख) अतिअशक्त अपाङ्गता :

वैयक्तिक क्रियाकलापहरू सम्पादन तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर अरूको सहयोग लिनुपर्ने स्थितिलाई अति अशक्त अपाङ्गता मानिनेछ ।

ग) मध्यम अपाङ्गता :

भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा र तालिम भएमा अरूको सहयोग लिएर वा नलिईकन निरन्तर दिनचर्या र सामाजिक क्रियाकलापहरूमा सहभागी हुन सक्ने अवस्थालाई मध्यम अपाङ्गता भनिन्छ ।

घ) सामान्य अपाङ्गता :

सामाजिक तथा वातावरणीय अवरोध नभएमा आफैँ नियमित दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थालाई सामान्य अपाङ्गता मानिनेछ ।

 

द्रष्टव्य :

१. “व्यक्तिको शारीरिक अङ्गहरूको बनोट र कार्यहरू” भन्नाले शरीर सञ्चालनसम्बन्धी, दृष्टिसम्बन्धी, स्वर र सुनाइसम्बन्धी, मानसिक, मांसपेशी र स्नायुसम्बन्धी र अन्य प्रणालीका अङ्ग र कार्यहरूलाई जनाउनेछ ।

२. “नियमित दिनचर्याका कार्यहरू र सामाजिक जीवन क्षेत्रमा सहभागिता” भन्नाले व्यक्तिको सिकाइ, दैनिक कामहरू, सञ्चार, चलफिर, स्वयं हेरचाह, घरेलु जीवन, अन्तरक्रिया, समाहित शिक्षा, रोजगारी, सामुदायिक एवं नागरिक जीवनका क्षेत्रहरूका कार्यहरू र सहभागितालाई जनाउँछ ।

३. “विद्यमान सामाजिक एवं भौतिक वातावरणबाट सिर्जित अवरोध” भन्नाले मनोसामाजिक, प्रविधि, प्राकृतिक तथा मानव निर्मित वातावरण, धारणागत, सेवा प्रणाली र नीतिहरूबाट सिर्जना भएको अवरोधलाई जनाउँछ ।

४. सहभागिता, सुविधा तथा प्रतिनिधित्वसमेतका लागि सुस्त मनस्थिति  र पूर्ण अशक्तता भएका अपाङ्गका हकमा आमाबाबु वा प्रत्यक्ष रूपमा पालनपोषणमा संलग्न व्यक्तिलाई अभिभावक वा सरोकारवाला मानिनेछ ।

 

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.